नेपालीमा एउटा आहान छ– ‘बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु, बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नु ।’ यो उखान उहिलेको हो । तर अझै उतिकै सान्दर्भिक छ । प्याच्च बोल्दा कस्तो परिणाम आउँछ भन्ने कलाकारद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले भोगिरहेका छन् ।
टेलिभिजन कार्यक्रममा अरूको निजी जीवनबारे बोलेपछि उनीहरू विवादमा छन् । कारण बनेकी छन्, भिजे ओसिन सिटौला । पहिला सुरजसिंह ठकुरीले चलाउने कान्तिपुर टीभीको ‘इट्स माई सो’ नामक कार्यक्रम ओसिनले चलाउन थालेकी छन्, जसको पहिलो भाग नै विवादित बन्यो ।
कुराकानीका क्रममा ओसिनले एक अभिनेताको नाम लिँदै उनीसँग डेट गरिरहेकी अभिनेत्रीको नाम सोध्छिन् । जवाफमा स्वस्तिमाले ती अभिनेत्रीको नाम लिन्छिन् । यसमा थप्दै साम्राज्ञीले ती अभिनेत्रीसँग अरू तीन अभिनेताको नाम जोडिदिन्छिन् । उनको आशय थियो– त्योसँग मात्र हो र, फलानो फलानोसँग पनि हो नि ।
कार्यक्रम हेरेपछि कुरा काटिएकी अभिनेत्रीले आपत्ति जनाइन् । सामाजिक सञ्जालमा प्रश्न गरेकी छन्– ‘तपाईँको कामले कतिको जीवन प्रभावित हुन्छ भनेर तपाईँहरूले ख्याल गर्नुभएको छ ? म कुन विगतबाट आएकी हुँ भन्ने कुरा थाहा छ ? मेरो परिवारले पनि त्यो सो हेर्लान् भन्ने तपाईँहरूलाई लागेन ? एक महिलाको रूपमा तपाईँहरूले समाजका कस्तो उदाहरण देखाउँदै हुनुहुन्छ ? कसैलाई सार्वजनिक रूपमा बदनाम गरेर चर्चा कमाउनुको कारण के हो ?
अभिनेत्रीको प्रश्नपछि सोही स्ट्याटसमुनि स्वस्तिमा र साम्राज्ञी दुवैले माफी मागेका छन् । तर, पनि उनीहरूको आलोचना हुन छाडेको छैन । ती अभिनेत्रीले प्रेस काउन्सिलमा उजुरी समेत दिइएकी छन् ।
कार्यक्रममा ‘सेक्स कि फुड’जस्ता प्रश्नलाई पनि धेरैले मन पराएका छैनन् । ‘¥याफिड फायर’ नामक चरणमा प्रश्नको उत्तर दिन नसके अतिथिले कपडाको एक भाग खोल्नुपर्ने सर्त पनि विवादमा छ । बोलीमा लगाम लगाउन नसक्दा कलाकारले गाली खाँदै आएका छन् । म को हुँ र जिम्मेवारी के हो भन्ने जानकारीको हेक्का नहुँदा यस्तो समस्या बेलाबेलामा आउने गरेको छ । र, गाली खाने गरेका छन् ।
यसरी गाली खानेमा दीपाश्री निरौलादेखि पछिल्लो पुस्ताकी आँचल शर्मासम्म पर्छिन् । पूर्जा शर्मा, वर्षा राउत, प्रियंका कार्की पनि विवादमा तानिने कलाकारमा पर्छन् । अहिले स्वस्तिमा र सामाज्ञीलाई ‘पापकी परीहरू’ भन्दै सामाजिक सञ्जालमा उडाइरहेका छन् ।
कसैमाथि टीकाटिप्पणी गर्न पाइन्छ । विचार राख्न पाइन्छ । तर, व्यक्तिगत स्वतन्त्रमाथि हनन गर्न पाइँदैन । तर, अक्सर मान्छेमा अरूको कुरा काटेर रमाइरहेका हुन्छन् । यसरी अरूको कुरा गरिरहँदा उनको सबल पक्ष, राम्रो पक्ष, सफलता, प्रगति, क्षमता आदिको कुरा विरलै हुन्छ । बरु, उनको कमजोर पक्ष खोतलिन्छ । उनको विफलताबारे चर्चा गरिन्छ । उनको गल्ती–कमजोरीबारे बहस गरिन्छ ।
भनिन्छ– मानिसको व्यक्तित्व बोलीमा झल्किन्छ । मान्छेको सत्रु र मित्र दुवै बोली नै हो । बोल्न स्वतन्त्रता सबैलाई छ । तर, तिम्रो स्वतन्त्रताको सीमा त्यहाँ अन्त्य हुन्छ, जतिबेला तिम्रो हातले अर्काको नाकमा छुन्छ ।
अरूको व्यक्तिगत कुरा गर्नु कुनै फाइदा छैन । स्वस्तिमा र साम्राज्ञी प्रकरणले पनि उक्त कुराको पुष्टि गर्छ । मानिस अरूको कमीकमजोरी, नकारात्मक पक्ष खोतलेर आनन्दित हुन्छ भने त्यो उसको मनोवैज्ञानिक समस्या हो ।
मान्छेले यसरी अरूको गल्ती खोतलेर, कमजोरीको चर्चा गरेर त्यसबेला आनन्द लिन्छ, जब आफूमा त्यस व्यक्तिप्रति इर्ष्या, क्रोध, गुनासो रहन्छ । यसको अर्थ मनभित्र गुम्सिएको कुण्ठा पोख्न मान्छेले अरूको कुरा गर्छन् । अरूको नकारात्मक कुरा गरिरहँदा मान्छेलाई आफू राम्रो छु भन्ने भ्रम रहन्छ ।
आफू कमजोर भएमा, आफू असफल भएमा त्यसलाई ढाकछोप गर्न पनि मान्छेले अरूलाई होच्याउने चेष्टा गर्छन् । अरूलाई बामपुड्के देखाएर आफू अग्लो अनुभूत गर्ने यो प्रवृत्ति अधिकांश मानिससँग हुन्छ । अरूको कमी कमजोरी, दुर्बल पक्ष, खराब आनीबानीबारे यति धेरै चासो राख्छौँ कि त्यति आफ्नै बारेपनि चासो राख्दैनौँ ।
नेपालीमा एउटा उखान छ– ‘अरूको आङमा जुम्रा हिँडेको देख्ने, आफ्नो आङमा भैँसी पनि नदेख्ने ।’ ठ्याक्कै यही प्रवृत्ति । यो प्रवृत्ति वास्तवमा निकै भयानक छ । यसले मान्छेको व्यक्तित्व विकासमा सोझै बाधा पु¥याउँछ । कुनै व्यक्ति अरूको कुरा काट्न माहिर छ भने, उक्त व्यक्ति कुनै सम्मानित स्थानमा कसरी रहन सक्छ ?
अर्काको कुरा काट्नु राम्रो हुँदै होइन । तर, यो मानवीय स्वभाव हो । यसलाई पूर्णरूपले हटाउन सकिन्छ भन्ने छैन । कसैको चियोचर्चा गर्नु भनेको अर्काको निजत्वमाथि दखल पु¥याउनु पनि हो, जो एकदमै गलत कुरा हो ।
जसरी हामीलाई लाग्छ कि, आफ्नो निजी जीवनमाथि आफ्नो हक छ । त्यसैगरी अर्काको निजी जीवनबारे गलत चियोचर्चा गर्नु, गलत प्रचार गर्नु अधिकार होइन । तर, हामी आफ्नो सीमा, कर्तव्य, मर्यादा भुल्छौँ ।
कटु वा छुद्र वचनले अरूको दिल दुख्छ, दिल दुखाउनु सबैभन्दा ठूलो पाप पनि हो । किनकि अरू बाहिरी भागमा चोट लाग्दा औषधि गर्दा निको होला तर दिल या मन दुखाउँदा शान्ति मिल्दैन ।
अभिव्यक्ति स्वतन्त्रता छ । तर, त्यसको पनि सीमा छ । जसलाई जे मन लाग्यो, त्यही भाषाशैलीमा प्रस्तुत हुनु वा हुन पाउनु अभिव्यक्ति स्वतन्त्रता होइन । आफूलाई लागेको कुरा निर्बाध, कुनै डर, त्रास वा कानुनी बन्देजविना बोल्न पाउने अधिकारको अर्थमा बुझिन्छ ।
यो व्याख्या गरिरहँदा एउटा प्रसिद्ध भनाइ छ– ‘तिम्रो स्वतन्त्रताको सीमा त्यहाँ अन्त्य हुन्छ, जतिबेला तिम्रो हातले अर्काको नाकमा छुन्छ ।’ यो भनाइले अभिव्यक्ति स्वतन्त्रता सीमारहित हुँदैन भन्ने मान्यताको विकास गरेको छ ।’ अर्थात्, अभिव्यक्ति स्वतन्त्रता निरपेक्ष स्वतन्त्रता होइन, कानुनी आधारमा यसको सीमा निर्धारण गरिएको हुन्छ ।
भनिन्छ, मानिसको व्यक्तित्व बोलीमा झल्किन्छ । मानिसले बोल्ने कुराले उसको समग्र प्रवृत्तिको प्रतिनिधित्व गर्छ । सबैमा प्रखर वक्ता हुने क्षमता हुन्छ भन्ने होइन, तर कहाँ के बोल्ने कति नबोल्ने भन्ने विचार धेरै मानिसले गरेको पाइँदैन । त्यसैले भनिएको हो– दश पटक नाप्नु, एकपटक काट्नु । हो, बोल्दा पनि सोचेर बोल्नपर्दछ ।
मान्छेको सत्रु र मित्र दुवै बोली नै हो । कतिपय कार्यक्रम र होस्टले आफ्नो टीआरपी बढाउन विवादमा तान्ने प्रयास गर्ने गरेका छन् । त्यसमा गेस्ट सचेत हुनुपर्छ । सोधेका प्रश्न सबैको जवाफ दिनैपर्छ भन्ने पनि हुँदैन । व्यक्तिगत कुरामा म यो प्रश्नको जवाफ दिन्न भन्न पनि पाउँछन् ।
कुनै पनि कार्यक्रममा कसैलाई वक्ताको रूपमा बोलाउनुको अर्थ सम्बन्धित विषयमा ऊ महत्त्वपूर्ण व्यक्ति हो । उसले बोलेको कुराले अर्थ राख्छ भन्ने हो । शब्दमा यति ठूलो तागत हुन्छ कि जसले दुःख मेटाइदिन सक्छ । खुसी खोस्न सक्छ । बोलीले सम्बन्ध तोड्न र जोड्न सक्छ ।