- वीरेन्द्र रावल
धनगढी, १२ बैशाख । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडानम्बर–५ कटौजेस्थित क्वाइरेन्टाइनमा शुक्रबार फेरि एक महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
मोहन्याल गाउँपालिका वडानम्बर–५ सापखर्क घर भएकी २६ बर्षीया ती महिला बिहीबार पोखराबाट कैलालीको गौरीगंगा नगरपालिकाको राजीपुरमा पुगेकी थिइन् । उनको शुक्रबार बिहान र्यापिड टेष्टका क्रममा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गाउँपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत जयनन्द जैशीले जानकारी दिए ।
कोरोना संक्रमित महिलासँगै अन्य ११ जना पोखराबाट गौरीगंगा नगरपालिकाको राजिपुरसम्म विहीबार पुगेका थिए । अर्घाखाँचीबाट आएका एक १८ बर्षीय युवकको पनि र्यापिड टेष्टका क्रममा बुधबार साँझ चेक जाँचका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनी मोहन्याल गाउँपालिका वडा ५ कटौजे निवासी हुन् । उनीसँगै २७ जनामा अर्घाखाँचीबाट सँगै एउटै साधनमा कैलाली पुगेको थाहा भएको छ । संक्रमण भेटिएका १८ बर्षीय युवामात्रै सेती अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ती युवा अर्घाखाँचीबाट मंगलबारमात्रै कैलाली पुगेका थिए ।
कैलाली जिल्लाको दुर्गम पहाडी मोहन्याल गाउँपालिकाको वडानम्बर ५को कटौजेमा मात्रै अहिले ३९ जना क्वाइरेन्टाइनमा राखिएको छ ।
कोरोना संक्रमण पोजेटिभ देखिएकी ती महिलालाई सेती प्रादेशिक अस्पताल धनगढी लाने पहल भइरहेको गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले बताए । गाउँपालिकाको कटौंजेबाट पूर्वपश्चिमा राजमार्गसम्म पुग्न एम्बुलेन्सलाई २ घण्टा लाग्छ ।