Logo
Logo

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने


441
Shares

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार बिहान काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत लिने दलको बैठकले निर्णय गरेको बताए । तर, कहिले मत लिने भन्ने मिति भने नतोकिएको उनले बताए ।

सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीहरूले राजीनामा दिइनसकेको अवस्थाले विश्वासको मत लिने समय तोक्न नसकिएको उनले बताए । बैठकमा साउनको पहिलो हप्ता विश्वासको मत लिनेबारे छलफल भएको उनको भनाइ छ ।

नेकपा एमालेले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । शुक्रबार नै समर्थन फिर्ता लिने तयारी गरेको भएपनि मुख्यमन्त्री जम्कट्टेल काठमाडौंमा भएकाले रोकिएको एमाले बागमती प्रदेशका मुख्य सचेतक मधुसुुुदन पौडेलले बताए । उनले मुख्यमन्त्री जम्कट्टेल हेटौंडा आएका लगत्तै मन्त्रीहरूको राजीनामा बुझाउने तयारी गरेको बताए । मुख्यमन्त्री जम्कट्टेल आज हेटौंडा जाँदैछन् ।

केन्दमा सत्ता समीकरण बदलिएसँगै माओवादी केन्द्रको नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन लिन लागेको हो । बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन् । संसदीय दलका नेता जगन्नाथ थपलियासहित रामेश्वर श्रेष्ठ, केशव पोख्रेल, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्