काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन् ।आइतबार दुवै पार्टीलको संसदीय दलले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन् ।
केन्द्रमा सत्ता समिकरण उलटफेरसंगै नेकपा एमालेले २० असारमा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सामेल ३ मन्त्रीलाई फिर्ता बोलाएको थियो । त्यसपछि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी नेतृत्वको सुदूरपश्चिम सरकार अल्पमतमा छ ।
एमालेले समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्व सरकार कामचलाउ भइसकेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न विज्ञप्तीमार्फत सुझाव दिइएको छ । यस्तै बहुमत गुमाइसकेका अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न नगराउन समेत आग्रह गरिएको छ ।
एमाले, माओवादी, र नाउपा रञ्जिता पक्षको समर्थनमा ६ वैशाखमा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । उता सोडारी तत्काल राजीनामा नदिने तयारीमा छन् । अल्पमतमा परेका मुख्यमन्त्री सोडारी साउनमा विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
एमलेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले साउन २० गतेभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
विश्वासको मत प्राप्त गर्न नसके सोडारी नेतृत्वको सरकार ढल्नेछ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठन र सरकार टिकाउनका लागि २७ जना सदस्यको समर्थन आवश्यक पर्छ।
अहिलेको अवस्थामा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीलाई माओवादीका १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिको रञ्जिता पक्षय २ र स्वतन्त्र सासंद डा. तारा प्रसाद जोशीको समर्थन रहेको देखिन्छ।
नेकपा एमाले र कांग्रेसले सत्ता सहकार्य गर्ने सहमति गरेसँगै सरकार गठनका लागि सहज अंकगणित छ । कांग्रेसका १८ र एमालेका ११ जना सासंद रहेका छन् । नागरिक उन्मुक्तिका ७ मध्ये २ जना अल्पमतको सरकारमा छन् । रेशम पक्षीय ५ सांसद प्रतिपक्षमा छन् ।