Logo
Logo

पहिरोका कारण बेनी-जोमसोम सडक बन्द


756
Shares

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोका कारण मुस्ताङका सबै नाका बन्द भएका छन् । मुस्ताङका लागि पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडकमार्फत जोडिने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङमा नाका बन्द भएको हो ।

बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोरमा रघुगङ्गा गाउँपालिका–२, बैसरीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । बिहीबारदेखि नै पहिरो झर्न थालेपछि शुक्रबार फाट्टफुट्ट सवारी चलेको भए पनि शनिबार बिहानैदेखि भने पूरै बन्द भएको छ ।

धेरै ठाउँमा पहिरो झरिरहेको हुँदा यात्रा गर्न निकै कष्टकर र जोखिम पनि भएकाले अहिले अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्लास्थित प्रशासन कार्यालयले आग्रह गरेको छ । जोमसोम–बेनी सडकको मार्फा खोलामा बाढी आउँदा पटक पटक अवरुद्ध हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार बेनी–जोमसोम सडकखण्डको म्याग्दीतर्फ रघुगङ्गा गाउँपालिका–२, तल्लो बैसरी र माथिल्लो बैसरीमा सडक अवरुद्ध भएको छ । वर्षासँगै असार १५ देखि जोमसोम–पोखरा हवाई उडान पनि बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्