Logo
Logo

दमकमा उच्च सतर्कता, भुटानी शरणार्थी शिविर सिल


- दृष्टि न्युज/संवाददाता

0
Shares

दमक, १३ बैशाख । झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता अपनाइएको छ ।
गत चैत ४ गते दुबईबाट घर आएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा बिहीबार गरिएको आरडिटी परीक्षणमा तीनै जनाको एण्टीबडी पोजेटिभ देखिएको हो । तीमध्ये ६२ वर्षीय बुबामा भने पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सुरक्षा सतर्कता थालिएको हो ।
संक्रमण पुष्टि भएलगत्तै नगरपालिकामा शुक्रबार साँझ नै बसेको बैठकले कोभिड–१९को संक्रमण देखिएको वडा आसपासका क्षेत्रमा थप कडाइ गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले बताए । उनका अनुसार संक्रमितको घर बिहीबार बेलुकादेखि नै सिल गर्नुका साथै त्यस घर नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको छ ।
बिहीबार दमक–३ का एकै परिवारका तीन जनामा गरिएको ¥यापिड टेष्टमा एण्टीबडी पोजेटिभ देखिएपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणका क्रममा एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो । दमक अस्पतालको आइसोलेसनमा ती संक्रमितसहित सात जना राखिएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।
शुक्रबार सम्ममा दमकका विभिन्न तीन क्वारेन्टाइनमा ४१ जना रहेका छन् । दमक–४ स्थित मानसरोवरमा २१, दाहाल प्रतिष्ठानमा छ र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्