Logo
Logo

टेलिकममा झालाई ल्याउन सुन तस्करकै सेटिङ


2.1k
Shares

काठमाडौं । ठूला परियोजना र अर्धसरकारी निकाय, संस्थाहरुमा सरकारी नियुक्तिको तयारी थालिएको छ । सरकारबाट बाहिर निस्कने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न सरकारी नियुक्तिमा चासो राख्दै प्रकृया अघि बढाएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट धेरैको नियुक्ति हुने बालुवाटार स्रोतले दृष्टिलाई बताएको छ ।

सचिव रामकृष्ण सुवेदी

प्रधानमन्त्री दाहालले आगामी २८ गते विश्वासको मत लिन संसदलाई जानकारी गराइसकेको अवस्थामा अरबौ चलखेल हुने नेपाल टेलिकमको एमडी नियुक्तिको तयारी थालिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको संयोजकत्व तथा पूर्वसचिव हरि बस्याल र मन्त्रालयका सहसचिव बाबुराम भण्डारी सदस्य रहेको प्रबन्ध निर्देशक छनोट सिफारिस समितिले एमडी नियुक्तिको तयारी थालिएको हो ।

मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्तिका लागि बिहिबारबाट अन्र्तवार्ता लिन थालिएको थियो । आइतबार यसको प्रक्रिया सकिएको छ । सचिव सुवेदीलाई मुख्यसचिव बनाइदिने आश्वसनसहित एमडी नियुक्तिको प्रक्रिया थालिएको स्रोतले बताएको छ ।

सरकारको नेतृत्व गर्न तयारी अवस्थामा बसेका नेपाली कांग्रेस र नेकपा एमालेले महत्वपूर्ण निर्णय नगर्न प्रचण्ड नेतृत्वको सरकारलाई बारम्बार आग्रह गरेको भए पनि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आफू अनुकुलको एमडी नियुक्तिका लागि हतार गरिरहेका छन् ।

जनक शिक्षा सामग्री लिमिटेडका अनिल झालाई नियुक्ति गर्ने गरी मन्त्रालयका सचिवले लाइन मिलाएको स्रोतको दाबी छ ।

सरकार अल्पमत परिसकेको र विश्वासको मत फिर्ता लिएको अवस्थामा कुनै नियुक्ति, सरुवा र बढुवा नगर्न आग्रह गरिसकेको अवस्थामा सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी)नियुक्तिका लागि अन्र्तवार्ता लिन थालेपछि एमालेले त्यसलाई नजिकबाट हेरिरहेको छ ।

अन्तर्वार्ता सूचना तथा सञ्चार मन्त्रालयमा लिइएको थियो । प्रधानमन्त्री र सचिव सुवेदीले झालाई नियुक्तिका लागि तयारी गरेको स्रोतले जनाएको छ । केपी ओलीलाई फेसबुकमै चुनौती दिएर के गर्छन् ओलीले भनेर सार्वजनिक टिप्पणी गर्ने सुवेदी अहिले सञ्चारका विभिन्न पदमा नियुक्तिका लागि सक्रिय रहेका छन् । सचिव सुवेदी ओलीका कट्टर विरोधी हुन् ।

उनै सुवेदीले झालाई बोकेर हिँडिरहेका छन् । शिक्षा सचिव हुँदा सुवेदी र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका एमडी झाबीच घनिष्ठ सम्बन्ध रहेको थियो । झालाई जसरी पनि टेलिकमको एमडी बनाउन सुवेदी लागेका छन् । त्यसका लागि उनले सबै वातावरण बनाइसकेका छन् ।

शिक्षा मन्त्रालयबाट वित्त आयोग फालिएका सुवेदीलाई सुन काण्डमा मुछिएका जीवन गुरुङ भीमकान्त भण्डारी र अनिलकुमार झाको समूहले सञ्चार सचिव बनाएको स्रोतको दावी छ । पूर्वसञ्चार सचिव हरिप्रसाद बस्याल समितिमा विज्ञ सदस्यका रूपमा राखिएको छ । ‘सुवेदी उपराष्ट्रपति कार्यालयमा सचिव हुँदादेखि कै गुरुङसँगको सम्बन्ध रहेको थियो ।

सुन काण्डमा मुछिएका गुरुङ र भण्डारीको घनिष्ठ सम्बन्धकै कारण सुन तस्करीको गिरोहले नै सुवेदीलाई शिक्षा र सञ्चारका पठाएको हो’, स्रोतले भन्यो । एमडी नियुक्तिको प्रतिस्पर्धामा १६ जना छन् । उक्त पदका लागि परेको १७ जनाको नाममध्ये १६ जनाको नाम समितिले स्वीकृत गरेको थियो ।

यसरी नाम स्वीकृत हुनेहरुमा अनन्तप्रकाश मल्लिक, अनिलकुमार झा, कृष्णप्रसाद भण्डारी, कमल लामिछाने, केदारनाथ कोइराला, चिन्तामणि बराल, नागेन्द्रकुमार दास, बुद्धिप्रसाद आचार्य, प्रेमप्रसाद सिलवाल, डा. विमल आचार्य, रमेशप्रसाद जोशी, राजेश जोशी, लक्ष्मण महर्जन, शालिकराम सुवेदी, डा शालिग्राम पराजुली, सुवास साह र संगीता पहाडी छन् ।

प्रतिक्रिया दिनुहोस्