Logo
Logo

लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : साढे चार हजार विदेशी फर्किए, आन्तरिक उडान खुलाउने तयारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ बैशाख । देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् ।
विश्वलाई सम्पर्क सञ्जालकारूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय उडान भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विसं २०७६ चैत १० देखि २०७७ वैशाख १२ गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले ३३ अन्तर्रा्ष्ट्रिय उडान गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन् ।
प्रवक्ता क्षेत्रीका अनुसार लकडाउनको अवधिमा यही वैशाख ८ गतेसम्म चार हजार ५३२ विदेशी नागरिक स्वदेश फर्किएका छन् । शुक्रबार मात्रै श्रीलङ्काले आफ्नो श्रीलंकन एयरको चार्टर्ड जहाजमार्फत नेपालमा रहेका ७६ विद्यार्थी स्वदेश लगेको थियो । यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको नौ, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को (चार कार्गो र चार उद्धार उडानसहित) आठ, टीटान एयरको तीन, श्री एयरलाइन्सको (सुडान र सिङ्गापुर कार्गो उडान) दुई, बुद्ध एयरको एक र कोरियन एयरको दुई उडान भए । त्यसैगरी भूटानको ड्रक एयर, श्रीलङ्कन, मलेशिया, मालिन्दो, इत्तिहाद, चेक रिपब्लिकन, रोयल फ्लाइट एयर र जर्नी एयरलाइन्सको समान एक–एक उडान भएका छन् ।
यसबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजील्याण्डलगायतका मलेशिया, श्रीलंका, माल्दिभ्स, रुस, चेक रिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् । नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् ।
लकडाउनको अवधिमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी जहाजले उड्डयन इतिहासकै लामो उडान अष्ट्रेलियाको ब्रेश्वन शहरमा गत चैत १९ गते चार्टर्ड उडान भरेको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा उडान भरेको थियो । भारतको नयाँदिल्ली र बंगलादेशको ढाकामा पनि निगमको न्यारोबडी जहाजले उडान भरेको थियो । चीनको ग्वाङ्जाओमा निगमका वाइडबडी जहाजले चार कार्गो उडान गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ पनि लकडाउनको अवधिम उल्लेख्य संख्यामा कार्गो र उद्धार उडान भएका छन् ।
आन्तरिकमा १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान गर्छन् । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा कोभिडको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । पछिल्लोपटक वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो । वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गरिएको छ । आन्तरिक उडान पनि स्थगन भएका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत १० देखि लागू हुने गरी चैत ९ गते नेपालमा उडान भर्ने सबै अन्तर्रा्िष्ट्रय हवाई उडानमा प्रतिबन्ध लगाएको थियो । समितिले पछिल्लोपटक वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको थियो ।
आन्तरिक उडान खुलाउने तयारी
सरकारले जारी लकडाउनको ढाँचा परिवर्तन गर्ने गृहकार्य गरिरहेको छ । यसै सन्दर्भमा लकडाउनको अवधि थपिने या नथपिने अर्थात् लकडाउनलाई कस्तो ढाँचामा लैजाने भन्नेबारे यकिन भएको छैन । तथापि राजधानी काठमाडौँको लकडाउनलाई केही खुकुलो बनाउने सरकारले संकेत गरिसकेको छ । लकडाउन खुकुलो भए पनि अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध कायमै रहने सम्बद्ध अधिकारी बताउँछन् ।
नियामक निकाय प्राधिकरणले पनि तत्कालै अन्तर्राष्ट्रिय उडान खुल्ने अवस्था नरहेको जनाएको छ । मुलुकको आन्तरिक उडान भने निश्चित मापदण्डका आधारमा सञ्चालन गरिने बताइएको छ । यद्यपि वैशाख १५ पछि आन्तरिक उडान खुलाउनेबारे सरोकारवाला निकायबीच छलफल भइरहेको छ ।
प्राधिकरणका प्रवक्ता क्षेत्रीले आन्तरिक उडान खुलाउनेबारे वायुसेवा सञ्चालक सङ्घलगायत सरोकारवालासँग छलफल चलिरहेको तर कसरी र कुन मितिदेखि उडान सञ्चालन गर्ने भन्नेबारे कुनै निष्कर्षमा पुगिनसकेको बताएका छन् ।
छिमेकी मुलुक भारतमा पनि लकडाउन चलिरहेको र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध गरिएको अवस्थामा नेपालले पनि तत्काल उडान सञ्चालन गर्ने अवस्था नरहेको अधिकारीको बुझाइ छ । भारतीय एयर इण्डियालगायत एयरलाइन्सहरुले मे ४ देखि आन्तरिक र जुन १ देखि अन्तर्राष्ट्रिय उडानका लागि टिकट बुकिङ खुलाउने निर्णय गरेपनि त्यहाँको ‘मिनिष्ट्री अफ सिभिल एभिएशन’ ले जुलाइ महिनासम्म बुकिङ नखुलाउन निर्देशन दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्