Logo
Logo

चितवनका एक संक्रमित कोरोना मुक्त, आजै डिस्चार्ज हुँदै


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन, १३ बैशाख । कोरोना भाइरसको संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् ।
उनीसँगै रहेकी आमाको दोस्रो पिसीआर परीक्षण भने पोजेटिभ देखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार लगातार दुईपटक गरिएको परीक्षणमा छोराको नेगेटिभ देखिएको हो । उनलाई आज औपचारिकरूपमा डिस्चार्ज र बिदाइ गरिने छ ।
आमा अस्पतालमा नै रहनुपर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाइनमा बस्ने वा घरको क्वारेन्टाइनमा बस्ने टुङ्गो नलागेको तिवारीले जानकारी दिए । उनले भने, ‘उहाँलाई हामी आज दिउँसो औपचारिकरूपमा डिस्चार्ज गरेर क्वारेन्टाइनमा बस्न लगाउँछौँ ।’
तिवारीका अनुसार राप्ती नगरपालिका–८ निवासी ६५ वर्षिया आमा र २७ वर्षिय छोरामा कोरोना भाइरस देखिएको थियो । शुरुमा आमामा ¥यापिड डायग्नोष्टिक टेष्टमा शंकास्पद देखिएपछि आमा र दुई छोराको पिसीआर परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालामा आमा र एक छोराको पोजेटिभ देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनमा निगरानीमा राखिएको छ । भरतपुरबाट स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि नतिजा पोजेटिभ आएको थियो ।
परीक्षणअघि आमा र दुई छोरा अस्पतालमा रहेको भए पनि एक जना छोरालाई नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको थियो । हाल अस्पतालमा रहेका आमा छोरामा रोगको लक्षण नदेखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनका अनुसार तीन दिनपछि पुनः आमाको स्वाब परीक्षण गरिने छ ।
चैत ३ गते बेलायतबाट यी आमा छोरा हङकङ हुँदै नेपाल आएका हुन् । दुई दिन काठमाडौँ बसेर उनीहरु घर आएका थिए । परिवारका सदस्य, उनीहरुसँग निकट भएका एम्बुलेन्स चालकदेखि अन्य व्यक्तिलाई हाल राप्तीको ब्रह्मनगरको क्वारेन्टाइनमा राखिएको छ । ¥यापिड डायग्नोष्टिक टेष्टमा सबैको नेगेटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्