एजेन्सी । रुसले युक्रेनको राजधानी किभमा गरेको मिसाइल आक्रमणमा परी ४१ जनाको ज्यान गएको छ । रुसले सोमबार कीभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा दर्जनौँ मिसाइल आक्रमण गरेको थियो । उक्त आक्रमणमा तीन बालबालिकासहित ४१ जनाको ज्यान गएको हो । आक्रमणबाट १ सय ८४ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कीभको ओखमाटित बाल अस्पतालमा भएको आक्रमणले ठूलो चिन्ता सृजना गरेको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेनेस्कीले बताएका छन् । रुसले युक्रेनका सबैजसो ठूला उर्जा केन्द्रमा आक्रमण गरेर जनजीवन कष्टकर बनाएको अवस्थामा अस्पताल लक्षित आक्रमणले थप चिन्ता थपेको छ ।
आक्रमणमा परेको बाल अस्पताल युरोपको सबैभन्दा महत्त्वपूर्ण अस्पतालमध्येकै एक थियो । यसले हजारौँ बालबालिकाको जीवन रक्षा र पुनर्स्थापना गर्दै आएको छ । रुसले युक्रेनका विभिन्न सहरमा ४० वटा भन्दा धेरै मिसाइल प्रहार गरेको खबरहरुमा उल्लेख छ ।
हिजोको आक्रमणमा रुसले किन्जल हाइपरसोनिक मिसाइलको प्रयोग गरेको थियो । जुन रुसको सबैभन्दा उन्नत हतियार हो । किन्जल मिसाइल ध्वनिको गतिभन्दा १० गुणा छिटो उड्छ, यो मिसाइललाई रोक्न धेरै गाह्रो हुने युक्रेनी सेनाले जनाएको छ ।
पछिल्लो समय अमेरिका र युरोपले युक्रेनलाई अत्याधुनिक हतियार सहयोग गरेपनि रुसी सेनाको आक्रमण रोक्न हम्मेहम्मे परिरहेको छ ।