काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई दिने भ्रमणका लागि सोमबार रुस पुगेका मोदी र पुटिनबीच नोभो–ओगार्योभोमा भेटवार्ता भएको हो ।
भेटमा उनीहरुबीच रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको सुरक्षाबारे छलफल भएको थियो । समाचारमा दाबी गरिएअनुसार मोदीको अनुरोधमा पुटिन रुसी सेनामा भर्ती भएका भारतीयलाई फिर्ता गर्न सहमत भएका छन् ।
भेटमा पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फर्काउन सहमति जनाएको र त्यो काममा सहजीकरण गर्ने बताएको स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ ।
हालै भारतीय विदेश मन्त्रालयले रुसी सेनामा कार्यरत चार भारतीय नागरिकको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो । रुसी सेनामा दुई दर्जन बढी भारतीय नागरिक भर्ती भएको अनुमान छ । १० जना भारतीय नागरिक भने फर्किएका थिए ।