Logo
Logo

मुकुल ढकाल पदबाट बर्खास्त, साधारण सदस्यमात्रै रहने

पुनरावेदनका लागि दिइयो ३५ दिनको समय


2.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ । मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाएको हो ।

पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो । तर, केन्द्रीय समिति बैठकले भने साधारण सदस्यता कायम राख्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट मात्र हटाउने निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले बताए ।

त्यस्तै, केन्द्रीय समितिले गरेको निर्णय ठिक नलागेमा पुनरावेदनका लागि उनलाई ३५ दिनको समय दिइएको झाले बताए । यसअघि गत बुधबार (असार १९) सात दिनका लागि ढकाललाई निलम्बन गरेको थियो । पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गरिएको थियो ।

बुधबारको बैठकमा ढकाल मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए । आज (मंगलबार) को बैठकमा भने उनी उपस्थित भएनन् । ढकालले समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदनमा समेटिएका केही विषयहरू सार्वजनिक भएपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको थियो ।

उनले पार्टी यही ढंगबाट चले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी नहुनेदेखि सभापति रवि लामिछाने पार्टीमा एकलौटी ढंगले चलेकोसम्मका आरोप लगाएका थिए । यसबारे आफूले लेखेको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक हुनुपर्ने र केन्द्रीय कमिटी बैठक लाइभ (प्रत्यक्ष प्रसारण) गर्नुपर्ने उनको माग थियो ।

प्रतिक्रिया दिनुहोस्