काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेससँग संविधान संशोधन गर्न आयोग बनाउने सहमति नभएको जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–एमालेबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका हुन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधनका लागि कांग्रेस र एमालेबिच आयोग बनाउने सहमति नभएको बताए । उनले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताए ।
अध्यक्ष ओलीले निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको बताउँदै भने, ‘आयोग कसैको नेतृत्वमा पनि बनेको छैन । आयोग बन्ने भन्ने कुरा पनि कुनै सहमति भएको छैन ।’ राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति रसमृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उनले बताए । एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकता, अन्यौलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको ओलीले बताए ।
प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको उनले उल्लेख गरे ।
साथै, उनले स्वार्थलाई अग्रभागमा भएको र सङ्घीयतालाई सफल बनाउने दिशामा नगएकाले समीकरण फेर्नुपरेको दावी गरे । संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने ओलीको भनाइ छ ।
उनले भने, ‘संविधान संशोधन गर्न कसैको नेतृत्वमा आयोग बनेको छैन । मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ, त्यो संशोधन गर्ने भनेको हो ।’