काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई ५ अर्ब ४५ करोड रुपैयाँ विस्तारित ऋण सुविधा दिन स्वीकृत गरेको छ । कोषको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै अन्तिम किस्ता ४ करोड १३ लाख अमेरिकी डलर बराबर रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
स्वीकृत भएको उक्त रकमसहित नेपालले २४ करोड ७७ लाख अमेरिकी डलर ऋण सुविधा पाउन सक्नेछ । यसअघि १२ जनवरी २०२२ मै कोषले नेपाललाई विस्तारित ऋण सुविधाअन्तर्गत कुल ३७ करोड १६ लाख अमेरिकी डलर रकम प्रदान गर्न अनुमोदन गरेको थियो ।
विस्तारित ऋण सुविधामार्फतका कार्यक्रम कार्यान्वयनमा नेपालले राम्रो प्रगति गरेको उल्लेख गर्दै आईएमएफले चौथो किस्ताको रकम स्वीकृत गरेको हो । यो ईसीएफ रकमले नेपाललाई अरु विकास साझेदारहरुबाट थप वित्तीय सहयोग उपलब्ध गराउन सहयोग पुग्ने आईएमएफको भनाइ छ ।
नेपालले आर्थिक सुधार एजेन्डामा महत्त्वपूर्ण प्रगति गरेको उल्लेख गर्दै आईएमएफले मौद्रिक नीति, बैंकिङ नियमनजस्ता माध्यममार्फत कोभिड १९ का असरविरुद्ध प्रभावकारी भूमिका निर्वाह गरेको जनाएको छ ।