काठमाडौं । मुग्लिन–नारायणगढ सडकको सिमलतालबाट लेदोसहितको पहिरोले बगाएर वेपत्ता भएको भनिएको बसमा सवार यात्रुहरुको परिचय खुलेको छ ।
शुक्रबार बिहान साढे ३ बजेको समयमा वीरगञ्जबाट काठमाडौं आइरहेको एञ्जल डिलक्स र काठमाडौंबाट रोतहटको गौर गइरहेको गणपति डिलक्सको बस लेदोसहितको पहिरोमा पुरिएर वेपत्ता भएको थियो । उक्त दुई बसमा सवार यात्रुहरुको परिचय खुलेको छ ।
काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको गणपति डिलक्समा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।
सो बसका यात्रुहरुको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ । यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ ।
नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरुको नाम पनि उल्लेख छैन ।
वीरगञ्जबाट काठमाडौं आइरहेको एञ्जल डिलक्समा भने चालक र सहचालक सहित २३ यात्रुहरु सवार रहेको खुलेको छ । जसमा उनीहरुको पूरा विवरण खुलाइएको छैन । उनीहरुमध्ये १४ जनाको मात्रै नाम खुलेको छ । त्यसका चालक जवाहीर महतो, सहचालक रामकुमार लामिछाने रहेको छन् ।
तर बसमा सवार तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।