काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विशेष सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन् ।
देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर, अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ ।