Logo
Logo

‘बेइमानी’ प्रचण्डले रोष्ट्रमबाट सिकाए नैतिकताको पाठ 


1k
Shares

काठमाडौं । भनिन्छ- आमनिर्वाचनले देशमा निकास र विकास दिन्छ । तर, नेपालमा भने धोका मात्रै दिने गरेको छ । २०७९ मंसिर चारको आमनिर्वाचनपछि धोका दिने र धोका खानेको लहर नै चल्यो । 

देशमा चरम भ्रष्टाचार छ । बेथिति छ । अस्थिरता छ । यसका मुख्य नायक हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । पछिल्लो डेढ वर्ष उनकै राजनीतिक गद्दारीका कारण देश दलदलमा फस्यो । 

प्रचण्डले गद्दारी गर्न कसैलाई बाँकी राखेनन् । आमनिर्वाचनमा माओवादीले कांग्रेससँग गठबन्धन गरेको थियो । निर्वाचनपछि कांग्रेस संसद्को पहिलो दल बन्यो । एमाले दोस्रो बन्दा माओवादी तेस्रोमा खुम्चियो । 

माओवादी तेस्रो दल बनेपनि फाइदा उसैलाई भयो । माओवादीको संसदीय दलका नेता प्रचण्ड  प्रधानमन्त्री बने ।  उनले कांग्रेसलाई धोका दिए । र, नेकपा एमालेसहितको गठबन्धन बनाएर सरकार बनाए । 

एमालेसहित सात दलको समर्थनमा प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भए । प्रचण्डकै कुरा मानेर एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीले पनि धोका पायो । नेकपा एसले सरकारमा नजाने निर्णय गर्‍यो  । 

तर, प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपाल निवास कोटेश्वरमै पुगे । ‘यो वाम गठबन्धनको सरकार’ भन्दै बिन्ती बिसाएपछि नेकपा एस एमाले–माओवादी गठबन्धनमा सहभागी भयो । 

एमालेसँग मिलेर सरकार बनाएपछि प्रचण्डले गद्दारीका विभिन्न अध्याय खोले । राष्ट्रपतिको निर्वाचनसँगै उनले एमालेलाई धोका दिए । एमालेलाई सरकारबाट निकालेर कांग्रेसलाई भित्र्याए । 

काँग्रेससँगै गठबन्धनमा फर्किएपछि नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि सरकारबाट निकाले । कांग्रेससँग मिलेपछि प्रचण्डको साथमा आरामदायी बहुमत भयो । गृहमन्त्री पद आफ्नै भागमा पारे । प्रदेश सरकारहरूमा पनि प्रचण्डले यस्तै खाले गद्दारी चलाए । 

प्रचण्डले सबै दललाई धोकाको भाग पुर्‍याए । सत्ता टिकाउन उनले राजनीतिक गद्दारी गरिरहे । उनको डेढ वर्ष जनताको समस्यामा भन्दा पनि बेइमानीमै बित्यो । 

गत फागुन २१ गते प्रचण्डबाट कांग्रेसले दोस्रो पटक धोका पायो । उनी फेरि एमालेसँगै सत्ता सहकार्य गर्न पुगे । कांग्रेसलाई महसुस भयो– प्रचण्डले फेरि बेइमानी गरे । 

गत जेठमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्किए । उनी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका थिए । 

भारतबाट फर्किएपछि उनी फेरि सत्ता समीकरण परिवर्तनको खेलमा लागे। तर, यसपटक भने प्रचण्डबाट बारम्बार धोका पाएकाहरुले उनलाई धोका दिए ।

प्रचण्डले सहकार्यको लागि कांग्रेससँग कुरा अगाडी बढाएपछि एमाले पनि कांग्रेससँग सहकार्यको छलफल गरेको एमालेकै नेताहरूले दाबी गरेका छन् । 

यही असार १७ गते मध्यरातमा भने प्रचण्डमाथि बज्रपात भयो । दुई ठूला दल कांग्रेस–एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भयो । १८ गते साँझा सरकारलाई दिएर समर्थन फिर्ता लिन एमाले नेताहरू बालुवाटार पुगे । 

केहीबेर त्यहाँको माहौल भावुक बन्यो । प्रचण्डले गायक फत्तेमान राजभण्डारीको गीतका केही हरफ सुनाए । ‘एउटा मात्रै कुरा भन्छु’ भन्दै प्रचण्डले ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले’ बोलको गीत गाएका थिए ।

एमालले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रचण्डले राजीनामा दिएनन् । उनले संसद्को सामना गर्ने निर्णय लिए । सोही अनुसार आज (शुक्रबार) प्रतिनिधिसभा बैठक राखियो । 

आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै कांग्रेस–एमालेलाई नैतिकताको पाठ सिकाए । एमाले अध्यक्ष ओलीले स्वर्ग र नर्कसँगै जाने कसम खाएर धोका दिएको पनि गुनासो गरे ।

उनले भने, ‘जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र थियो भन्ने थाहा पाउन म ढिलो भएँ । केही मान्छेहरू कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन सक्दैनन् भनेर मैले हिसाब गरिनँ, समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरेँ । म लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अलमल्याइएँ । स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुकाइएँ ।’

जाँदाजाँदै उनले निर्वाचनपूर्वकै गठबन्धन अर्थात् नेपाली काँग्रेससहितको सत्ता समीकरणमा पनि एकपटक सम्झिए । उनले भने, ‘निर्वाचनपूर्वकै गठबन्धन अर्थात् नेपाली काँग्रेससहितको सत्ता समीकरणमा म प्रधानमन्त्रीका रूपमा त सुरक्षित थिएँ तर मेरो छटपटी अनुसारको समन्वय भएन ।’

उनले आफूले बारम्बार सत्ता समीकरण परिवर्तन गर्नुको अपत्यारिलो कारण पनि बताए । उनले भने, ‘असमझदारी भएर, सत्ताको संकट भएर वा अविश्वास भएर मैले गठबन्धन परिवर्तन गरेको होइन भनेर मैले त्यतिबेलै संसदमै भनेको हुँ । वास्तवमा तेज गतिमा सरकार चलाएर लोकतन्त्रप्रति जनताको भरोसा बढाउने हुटहुटी र अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै मलाई मालेसहितको गठबन्धनमा लगेको हो। मैले सरकारको गियर परिवर्तनका लागि यो ठिकै बाटो हो भन्ने मानेको थिएँ । नयाँ उदाएका शक्तिहरू पनि सरकारमा आएपछि तुलनात्मक रूपमा सकारात्मक वातावरण बन्यो पनि ।’

सायद, अब प्रचण्डलाई आफू र आफ्नो पार्टी यसै कमजोर भएको होइन भन्ने महसुस भयो होला । यसबारे माओवादीजनले पनि सोच्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्