Logo
Logo

प्रधानमन्त्रीको दाबी गर्न शितलनिवास जाँदै कांग्रेस-एमाले, कानुनी परामर्शमा राष्ट्रपति 


4.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सकार ढलेसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । 

आज (शुक्रबार) प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असमर्थ भएका छन् । प्रतिनिधिसभाबाट विश्वास गुमाएकाले प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । 

सत्तासाझेदार दल एमालेले कांग्रेससँग नयाँ सत्तागठबन्धनका निम्ति सरकार छाडेर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

प्रधानमन्त्रीको प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा ६३ मत पर्‍यो भने विपक्षमा १९४ सांसदले मतदान गरे । एक सांसद तटस्थ रहे । बैठकमा दुई सय ५८ सांसद उपस्थित थिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया टुंगिएलगत्तै कांग्रेस र एमालेले साना दलहरूलाई समेत साथमा लिएर आजै सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । उनीहरूले आवश्यकताअनुसार प्रयोग गर्न सकिने गरी दुईतिहाइ सांसदको हस्ताक्षरसमेत संकलन गरेर तयारी अवस्थामा राखेका छन् । 

संविधानको धारा ७६ (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार गठनको दाबी पेस गर्ने उनीहरूको तयारी छ । 

राष्ट्रपतिले संविधानको धारा ७६ (२) या ७६ (३) मध्ये कुन धाराबाट सरकार गठनको आह्वान गर्लान् निक्र्योल भइनसके पनि दुई ठूला दलले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दुई वा दुईभन्दा बढी दलहरूको समर्थन रहेको दाबी–पत्र पेस गर्ने तयारी गरेका हुन् । 

सभामुखले विश्वासको मत लिने संसदीय प्रक्रियाको परिणाम जानकारी गराएलगत्तै राष्ट्रपतिले सरकार गठनको आह्वान गर्ने अभ्यास छ । 

कानुनी परामर्शमा राष्ट्रपति 

राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागि कानुनविद्हरूलाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएका छन् ।

भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानुनविद्हरूलाई छलफलका लागि डाकेका हुन् । 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार साँझ ५ः४५ बजेका लागि कानुनविद्हरूलाई बोलाइएको छ । परामर्शका लागि कानुनविद्हरू विपिन अधिकारी, भीमार्जुन आचार्य, शम्भु थापा, हरिहर दाहाल लगायतलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्