Logo
Logo

सरकारमा कांग्रेसको नेतृत्व प्रकाशमान सिंहले गर्ने


3.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा पार्टीभित्र छलफल तिव्र अगाडि बढाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

कांग्रेस ओली नेतृत्वको सरकारमा पूर्वउपसभापति प्रकाशमान सिंहले नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । सभापति शेरबहादुर देउवाले त्यसका लागि पार्टीका इतर पक्षका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापासहित पार्टीका नेताहरूसँग बेग्लाबेग्लै छलफल गरेका छन् ।

एक नेताका अनुसार प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने निश्चितजस्तै भएको छ । त्यसबारे छलफल गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखिएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । यसपटक सभापति देउवा पार्टीभित्र विवाद नहुनेगरी सन्तुलन मिलाउने प्रयास गरिरहेका छन् ।

ती नेताका अनुसार सभापति देउवा प्रकाशमान सिंहको नेतृत्वमा ओली सरकारमा मन्त्री पठाउने तयारी गरेका छन् । अहिलेसम्म सिंहसहित रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरासियाको मन्त्री बन्ने निश्चित भएको ती नेताको भनाइ छ ।

एमालेसँगको सहमति अनुसार कांग्रेसले बढीमा १० मन्त्रालय पाउनेछ । अहिलेसम्म मन्त्री बन्ने निश्चित भएका परियार शेखर समूहका हुन् । अरु चार जना देउवानिकटका हुन् ।

पाँच जनाको नाममा अनौपचारिक सहमति भएपनि थप मन्त्रीको विषयमा देउवाले छलफल गरिरहेका छन् । कांग्रेस स्रोतका अनुसार दीपक खड्का र दीपक गिरीमध्ये एक जनालाई मन्त्री बनाउने देउवाको तयारी छ । तर, खड्काको सम्भावना बलियो रहेको बताइन्छ । उनी शशांकसँग देउवा गुटमा पनि नजिकिँदै गरेकाले देउवाले खड्काको नाममा सहमति जनाउने सम्भावना रहेको स्रोतको भनाइ छ ।

यस्तै, कर्णाली प्रदेशबाट मुगुका ऐनबहादुर शाही र सुर्खेतका हृदयराम थानीमध्ये एकजना मन्त्री बन्दैछन् । थामी शेखर समूहका हुन् । कांग्रेसका पूराना नेता अर्जुननरसिंह केसी र रामनाथ अधिकारीबारे पनि छलफल भइरहेको बताइएको छ । यस्तै, शेखर समूहका नेता चन्द्र भण्डरीले पनि मन्त्री बन्नका लागि देउवा र शेखरसँग् कुर’ गरिरहेका छन् । तर, अझैसम्म मन्त्री बन्ने नबन्ने निश्चित भइ नसकेको बताइन्छ ।

यस्तै, महामन्त्री गगन थापाले पनि आफ्नो कोटामा काठमाडौंबाट निर्वाचित प्रदीप पौडेललाई मन्त्री बनाउन देउवालाई दबाब दिइरहेका छन् । जसरी हुन्छ, प्रदिपलाई सरकारमा पठाउने पक्षमा गगन उभिएका छन् । तर, पौडेलको नाममा देउवा सकारात्मक नरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्