काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्म रहेकाले सोमबार मात्र शपथ हुने भएको हो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार आइतबार साँझ राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नेछन् । आइतबार अबेर हुने भएकाले सोमबार बिहान ११ बजे शपथ लिने तयारी रहेको पोखरेलकले बताए ।
एमालेका प्रमुख सचेतक महेश वर्तौलाका अनुसार अश्यक्ष ओलीले प्रधानमन्त्रीको शपथ लिए लगत्तै एमालेबाट विष्णुप्रसाद पौडेल र कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिनेछन् ।
सोमबार नै अरु मन्त्रीहरुलाई पनि शपथ गराउने तयारी भइरहेको र १५ जनाको मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको प्रमुख सचेतक वर्तौलाले बताए ।