काठमाडौं । प्रहरी जवान पदको लिखित परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हिजो (शनिबार) विभिन्न ठाउँमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका ६ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको हो ।
पक्राउ पर्नेमा रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास रहेका छन् ।
त्यस्तै पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द पनि पक्राउ परेको प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको हो ।