Logo
Logo

स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आयो : मुकुल ढकाल


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. मुकुल ढकालले आफूलाई पार्टी उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट पटक पटक धम्की आएको आरोप लगाएका छन् ।

उनले आज बिहान सामाजिक सञ्जालमार्फत सचिवालयबाट पटक पटक फोन आएको र फोन नउठाउँदा आफुलाई कुटपिट गर्ने धम्की आएको आरोप लगाएका हुन् । साथै उनले आफुले प्रहरीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको समेत बताएका छन् ।

उनले भनेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनु’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

रास्वपाबाट कारबाहीमा परेपछि ढकालले नेतृत्वको भण्डाफोर गर्दै आएका छन् । इलाम २ को उपनिर्वाचनको निराशाजनक परिणामपछि पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार ६ जेठमा महामन्त्री ढकाल समीक्षा यात्रामा निस्किएका थिए ।

ढकालले देशभरका कार्यकर्ता तथा शुभेच्छुकको वस्तुगत सुझावका आधारमा प्रतिवेदन तयार पारेर १२ असारमा सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदन बुझाउनुअगावै केही अंश सञ्चारमाध्यममा सार्वजनिक गर्दै प्रतिवेदन हुबहु सार्वजनिक गरेर आफूलाई न्याय दिन सभापति लामिछानेलाई अनुरोध गरेका थिए ।

प्रतिवेदन सार्वजनिक गर्नकै लागि महामन्त्री ढकालले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्न सभापतिसँग माग गरेका थिए । यहीबीचमा रास्वपाको केन्द्रीय अनुशासन आयोगले प्रतिवेदनका अंश पहिले नै सार्वजनिक गरेको भन्दै १४ असारमा उनलाई स्पष्टीकरण पनि सोधेको थियो ।

प्रतिवेदनमा स्वतन्त्र पार्टीको मर्म हराएको, अन्य पार्टीभन्दा फरक हुन नसकेको, पुराना शक्तिसँगै सम्झौता गरेर अगाडि बढेको, सांसददेखि मन्त्रीसम्मको भूमिका कमजोर भएको भनेर समीक्षा गरिएको छ । प्रतिवेदनमा प्रदेश संरचना खारेजी, बलियो स्थानीय सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रशासन सुधार र पार्टीले संशोधन गर्नुपर्ने एजेन्डाबारे पनि आंँल्याइएको छ ।

पार्टीको जनमत खस्किँदै गएको र निर्मम कदम नचाले ०८४ मा राष्ट्रिय पार्टी बन्न हम्मे पर्ने र विवेकशील पार्टीजस्तै हालत बन्ने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्