Logo
Logo

पत्रकारितामा ‘बुम’ आतंक


189
Shares

आमबुझाई छ– पत्रकारको काम अरूलाई प्रश्न गर्ने, अरुको कुरा सुन्ने र जस्ताको तस्तै जनतामाझ पुर्याउने पनि हो । भनिन्छ– ‘प्रश्न नगर्ने पत्रकार हुँदैन । प्रश्नविनाको पत्रकारिता हुँदैन । पत्रकारले जुन दिन प्रश्न गर्न छाड्छन्, न उनीहरू पत्रकार रहन्छन्, न त पत्रकारिता नै रहन्छ ।’

जब पत्रकारका प्रश्न हलुका हुन्छ । लोकतन्त्र पनि हलुका हुँदै जान्छ । छिमेकी देश भारतलाई हेर्दा पनि यो पुष्टि हुन्छ । सरकारको स्थायी प्रतिपक्षी रुपमा हेरिने आमसञ्चारमाध्यम सरकारको बखानमा लिप्त देखिन्छन् । त्यस्ता सञ्चारमाध्यमले ‘गोदी मिडिया’ उपनाम पाएका छन् ।

सरकार र सम्बन्धित निकायलाई पत्रकारले मात्र प्रश्न गर्न पाउँछन् भन्ने होइन । हरेक नागरिकले प्रश्न गर्न पाउँछन् । तर, ‘पत्रकारले प्रश्न गर्नुपर्छ’ हाम्रो परम्परागत बुझाई छ । अरुको भन्दा पत्रकारको पहुँच बढी हुन्छ । प्रश्न सोध्ने उसको मुख्य पेसा पनि हो, त्यसैले पत्रकारले बढी प्रश्न गर्ने गरेका छन् ।

तर, हरेक कुराको एउटा सीमा हुन्छ । प्रश्नको पनि कहाँ सोध्ने ? के सोध्ने ? कसलाई सोध्ने ? कसरी सोध्ने ? भन्ने हुन्छ । प्रश्न के हो वा होइन, बहस गर्न सकिन्छ । तर, पछिल्लो समय ठाउँ न कुठाउँ माइक तेर्साएर प्रश्न सोध्ने आतंक छाएको छ । यो पत्रकारिताको कर्म, धर्म र मर्मविपरित छ ।

अहिले सामाजिक सञ्जाल न्यू मिडियाका रुपमा विकास भएको छ । यसैबाट सूचना लिने प्रचलन बढ्दो छ । सूचना पाउनका लागि मूलधारका मिडिया मात्रै खोज्ने परिपाटीको अन्त्य भएको छ । तर, पत्रकारिता र युट्युवकारितामा फरक छुटाउन नसक्दा पत्रकारले गाली खानु परेको छ । पत्रकारिता पेसाको विश्वसनीयता र इज्जत खस्केको छ ।

युट्युबलाई नियमन गर्न नसक्दा पत्रकारिता बदनाम भइरहेको छ । युट्युबको सामग्री हेरेर पत्रकारलाई गाली गरिरहेका छन् । कुनै मूलधारको मिडियाका पाठक, श्रोता, दर्शकभन्दा युट्युबका दर्शक बढी छन् । यसले गर्दा समाज कस्ता घटना र सूचनाको पछि दौडिरहेको छ भन्ने चित्रण गर्छ ।

पत्रकारले आफ्ना लागि होइन, पाठक, श्रोता, दर्शक या आमनागरिकका प्रश्न गर्नुपर्छ । तर, पत्रकारले के गर्न हुन्छ र के गर्न हुँदैन भनेर पत्रकार आचारसंहितामा लेखिएको हुन्छ । नेपालमा प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले पत्रकार आचारसंहिता जारी गरेका छन् । उक्त आचारसंहितामा पत्रकारले प्रश्न सोध्दा के कसरी प्रस्तुत हुनुपर्छ भन्ने पनि उल्लेख छ ।

पत्रकार आचारसंहिताको दफा ४ उपदफा ३(१) मा भनिएको छ– ‘पत्रकार तथा सञ्चारमाध्यमले स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्दछ ।’ त्यस्तै उपदफा ३(२) मा उल्लेख छ– ‘पत्रकार तथा सञ्चारमाध्यमले सूचना वा जानकारीको सङ्कलन र सम्प्रेषण सभ्य र शिष्ट रूपमा गर्नुपर्दछ ।’

तर, हिजोआज पत्रकारिताको यस्तो शैली मौलाएको छ, जहाँ पत्रकार ठाउँको ठाउँ माइक तेर्स्याउँछन् र तातो न छारोको प्रश्न सोध्छन्– ‘भन्नुस् तपाईँ ! जनता जान्न चाहन्छन्… ।’
बेलगाम घोडाजस्तो । कुनै घटनाको फोटो÷भिडियो खिचेर जसले पनि राख्न सक्छ । यसबाट पनि नागरिकले सूचना पाउँछन् । यसरी सूचना प्रवाह गर्न त सकिन्छ । तर, सूचना दिनु मात्रै पत्रकारिता होइन । तथ्य सूचना दिनुपर्दछ ।

पत्रकारिता पेशा अँगाल्दा तोकिएका मापदण्ड पालना गर्नुपर्छ । जे मन लाग्यो त्यही सामग्री दिन पाइँदैन । मनलाग्दी गरेमा कारबाही हुन्छ । तर, युट्युवकारितालाई कसैले केही कारबाही गर्दैन । युट्युबर नै आम मानिसको बुझाईमा पत्रकार हो । तर सबै युट्युबर पत्रकार होइनन् ।

पत्रकार हुनका लागि नियमित सूचना सम्प्रेषणको काम गर्नुपर्छ । रेडियो, टेलिभिजनमा यति बजे समाचार आउँछ भनेर पर्खेर बस्न सकिन्छ । पत्रिका पनि नियमित आफ्नो समय अनुसार प्रकाशित हुन्छन् । अनलाइनमा पनि नियमित समाचार अपडेट गरिन्छ । तर, सामाजिक सञ्जालमा मन लागेको बेला मात्र सूचना सामग्री पोस्ट गरिन्छ ।

दिनदिनै सूचना सम्प्रेषण गर्नैपर्ने दायित्व पत्रकारमा मात्र हुन्छ । त्यो पनि कुनै एक घटना होइन की देश, विदेशका सबै महत्त्वपूर्ण घटनाहरू अद्यावधिक गरिरहनुपर्छ । तर, युट्युबवरले कुनै एक घटनालाई मात्रै खिचेर देखाइदिए पुग्छ । देशभरका घटना जानिरहनुपर्दैन ।

पत्रकारिता निश्चित नीति, नियम, आचारसंहिता र सिद्धान्तका आधारमा चल्छ । पत्रकारिताको धर्म र परम्पराका आधारमा पत्रकारिता चल्छ । समाचार सम्पादनपछि मात्र सार्वजनिक गरिन्छ । सञ्चार माध्यममा तालिम प्राप्त पत्रकार हुन्छन् । उनीहरुले पत्रकारिताको मूल्य मान्यता अनुसार मात्रै कुनै पनि सामग्री सम्प्रेषण गर्छन् ।

सञ्चार माध्यम राज्यको नीति नियम अनुसार दर्ता भई आवश्यक योग्यताका सम्पादक र सञ्चालक तोकी आधिकारिकरुपमा सञ्चालित हुन्छ । तर, सामाजिक सञ्जालमा पत्रकारितामा हुनुपर्ने यी कामहरू हुँदैनन् । न सामाजिक सञ्जाल कतै दर्ता गर्नुपर्छ, न यो राज्यको कुनै नियमबाट निर्देशित छ ।

युट्युबको सामग्री कुनै तालिम प्राप्त या अनुभवी सम्पादकद्वारा सम्पादन गरिँदैन । जसले खिच्यो, उसैले सनसनीपूर्ण शीर्षक राखेर पोस्ट गरिदिन्छ । तथ्य जाँच, परीक्षण पनि हुँदैन । एउटाले खिच्छ, उसैले आफूलाई मन लागेका आधारमा सामग्री पोस्ट गर्छ । यो गैरजिम्मेवार कुरा हो ।

पत्रकारिताको त छुट्टै ऐन, कानुन छ । कानुनविपरीत काम गरे कारबाही हुन्छ । सामाजिक सञ्जाल एकछिनमा जसले पनि सुरु गर्न सक्छ । जो पनि सजिलै युट्युबवर हुन सक्छ । उसलाई नियमन गर्ने कुनै निकाय छैन ।

युट्युब चलाउन जसले जतिबेला पनि सुरु गर्न सक्छ । भिडियो खिचेर पोस्ट गरे पुग्यो । यसमा कुनै प्रक्रिया र नीति नियम चाहिँदैन । नियम र सिद्धान्तमा बाँधिनु पर्दैन । जो मानिस जतिबेला पनि युट्युबर हुन सक्छ । तर, पत्रकार हुन लामो प्रक्रिया पार गर्नुपर्छ ।

युट्युबमा भ्युअर अर्थात दर्शकको संख्या बढाउने र त्यसवापत पैसा पाउने लोभमा जथाभाबी सनसनीपूर्ण शीर्षक बनाएर सामग्री पोस्ट गर्ने प्रवृत्ति बढेको छ । कतिपय युट्युबवर युट्युबबाटै कमाएर महँगा गाडी चढ्छन् । जीवनस्तरमा ठूलो परिवर्तन आएको छ । त्यसकारण युट्युबप्रति आकर्षण बढ्दो छ ।

कतिपय सार्वजनिक कार्यक्रमहरूमा समेत व्यवसायीक पत्रकारभन्दा युट्युबवर नै अघि पुग्छन् । पत्रकारका क्यामेराका अगाडि उनीरूका क्यामेरा हावी भइरहेका हुन्छन् । यसले व्यवसायीक पत्रकारलाई नियमित रिपोर्टिङमा समेत समस्या बनाउँदै लगेको छ । तर, कसैकसैले युट्युबमा टीभीले भन्दा राम्रो सामग्री पनि उत्पादन गर्ने गरेका छन् । जस्तै– ‘हेर्न कथा ।’

युट्युबवालाको दबदबा समाजमा बढ्दो छ । सबैतिर युट्युबकै चर्चा हुन्छ । राम्रो चलेका युट्युबवरको क्रेज बढ्दो छ । व्यवसायीक पत्रकारको भन्दा उनीहरूको लोकप्रियता छ । युट्युबको काम सस्तो लोकप्रियताक भइरहेको छ । युट्युबवरले गरेको गल्तीको सजाय पत्रकारले भोग्नु परिरहेको छ । उनीहरूकै कारण पत्रकारिता बदनाम भइरहेको हुन्छ ।

युट्युबलाई नियमन गर्ने कानुन नहुँदा पत्रकारिता बदनाम भइरहेको छ । युट्युबको सामग्री हेरेर पत्रकारलाई गाली गरिरहेका छन् । युट्युब आतंकले पत्रकारितालाई समस्यामा पारेको छ । कुनै मूलधारको मिडियाका पाठक, श्रोता, दर्शकभन्दा युट्युबका दर्शक बढी छन् । यसले गर्दा समाज कस्ता घटना र सूचनाको पछि दौडिरहेको छ भन्ने चित्रण गर्छ । समाज हल्लाकै पछि दौडिरहेको छ भन्ने यसबाट पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्