Logo
Logo

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न सरकारले माग्यो भारत र बंगलादेशसँग सहयोग


1k
Shares

काठमाडौं । सरकारले चार दिनदेखि त्रिशूली नदीमा वेपत्ता दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजी गर्न भारत र बंगलादेशसँग सहयोग मागेको छ ।

आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।

विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले हराएका बस र यात्रुहरुको खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशसँग सहयोग मागेको बताए ।

उनीहरुलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका जानकारी आइतबार नै पठाइएको भन्दै भूसालले उताबाट प्रतिउत्तरको प्रतीक्षामा रहेको बताए ।

बंगलादेशका गोताखोर उद्धारमा उत्कृष्ट मानिन्छन् । तर बंगलादेशको टोलीले जलप्रवाह तीव्र भएको स्थानमा खोज्ने गरेको छैन ।सहसचिव डा. भूसालले सम्भव भएसम्मका सबै उपायहरु अपनाएर खोजी कार्यलाई तीव्रता दिइएको बताए ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको लेदोसहितको पहिरोले दुई वटा बसलाई बगाउँदा त्रिशूली नदीमा वेपत्ता भएको थियो । सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ ।

हालसम्म नौ जनाको मात्र शव फेला परेको छ । खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोरसहित करिब पाँच सय जनाको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्