काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उनीहरुले रिटमा संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ७६(३) बमोजिम नयाँ नियुक्ति गर्न माग गरेका छन् । अधिवक्ता यज्ञमणि न्यौपानेले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । उनले आज सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।