काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बहिस्कार गरेका छन् । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हिजो बिहान ११ः ३० बजे आयोजित शपथ ग्रहण समारोहमा अन्य सबै पूर्वप्रधानमन्त्री सहभागी भएका थिए ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी थिए । उक्त अवसरमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद हस्तान्तरण गरेका थिए ।
एमालेबाट विद्रोह गरेपछि पूर्वप्रधानमन्त्री नेपाल अहिलेसम्म ओलीको कार्यक्रममा सहभागी भएका छैनन् । घमण्डी, अहम्, निरंकुश, स्वेच्छाचारी, छलकपट गर्ने ओलीको बानीदेखि नेपाल रुष्ट छन् ।
२०७८ असार २८ गते सरकारबाट बाहिरिएका ओली कांग्रेससँगको सहकार्यमा ३ वर्षपछि फेरि सत्तामा फर्किएका हुन् । ओली र कांग्रेस सभापति देउवाले आलोपालो प्रधानमन्त्रीको सहमति गरेका छन् । ओली नेतृत्वको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना सुरु भएको छ । ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषदमा दलित र मुस्लिमको प्रतिनिधित्व शुन्य छ भने महिलाको संख्या दुई मात्रै छ ।
देउवाले दुई मन्त्रालय लिएर नयाँ सरकारमा सहभागी हुन माधव नेपाललाई आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए । ओलीले देउवालाई पनि धोका दिने विश्लेषण नेपालको छ ।
ओलीले २०७७ पुस ५ र २०७८ जेठ ७ दुई दुई पटक असंवैधानिक रुपमा संसद विघटन गरेका थिए । त्यसको विरुद्धमा नेपालले विद्रोह गरेर आन्दोलन गरेका थिए । एमालेबाट नेपालको विद्रोहकै कारण ओली त्यतिबेला बालुवाटारबाट बालकोट पुगेका थिए ।
यो सरकार लामो समय नजाने विश्लेषण हुन थालिसकेको छ । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी सरकारको आयु चार महिना भएको दाबी गर्छन । चार महिनापछि फेरि कांग्रेस–माओवादी–समाजवादीसहितको सरकार बन्ने चौधरीको दाबी छ ।
चौधरीले कांग्रेससँग सम्बन्ध नबिगार्न माओवादी केन्द्रलाई सुझावसमेत दिएका छन् । कांग्रेस र माओवादीका नेताहरू आरोप प्रत्यारोपमा पनि उत्रिएका छैनन् । एमाले र माओवादीका नेताहरू बीच मात्रै अहिले आरोप–प्रत्यारोप चलिरहेको छ ।