Logo
Logo

प्रधानमन्त्री ओलीको नेतृत्वमा विकासले गति लिने झापावासीको विश्वास


756
Shares

झापा । चौथोपटक प्रधानमन्त्री बनेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट गृह जिल्लावासीले सन्तुलित विकासको अपेक्षा राखेका छन् ।

प्रधानमन्त्री ओलीको कार्यकालमा जिल्लामा अधुरा रहेका योजनाले पूर्णता पाउनुका साथै देशभर सन्तुलित विकास हुने अपेक्षा गरेका हुन् । नेपाली कांग्रेस झापाका जिल्ला सचिव कृष्ण हुमागाईंले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको आफ्नो पार्टीको सरकारका पालामा समग्र मुलुकको विकासले गतिलिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘उहाँले झापा जिल्लामा अधुरा रहेका योजना र थप महत्वका पूर्वाधार निर्माणमा ध्यान दिनुहुने नै छ । साथै विगतका कमजोरी सुधारेर जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुहुने आशा जागेको छ ।’

उनले विगतमा आफ्नै निर्वाचन क्षेत्रलाई मात्र पर्याप्त बजेट थोपरेको आरोप लागेकाले अब भने समग्र जिल्ला र प्राथमिकताका आधारमा देशका अन्य भूभागमा समेत विकास हुने अपेक्षा गरिएको धारणा राखे । दमक नगरपालिकाका प्रमुख राम थापाले आफूले भोट दिएर जिताएको व्यक्ति पुनः प्रधानमन्त्री बनेकामा खुसी लागेको भन्दै जिल्लाका अधिकांश अपूरा र अधुरा विकास निर्माणका कामले पूर्णता पाउने आशा पलाएको बताए ।

नगरप्रमुख थापाले प्रधानमन्त्री ओली यसअघि सुरू गर्नुभएको औद्योगिक पार्क लामो समयदेखि अलपत्र अवस्थामा रहेकाले अब बाँकी कामलाई पूर्णता दिन उनले ध्यान दिनुहुनेमा आफूहरु विश्वस्त रहेको सुनाए । उनले भने, ‘रवि चिसापानी सडक विगत १५ वर्षदेखि बन्न सकेको छैन, अब सडकले गतिलिने छ । अरू योजना पनि अगाडि बढाउन भेटेरै प्रस्ताव गर्ने योजना छ ।’

समाजसेवी हरिचरण बानियाँले प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्यूनीकरर्ण, औद्योगीकरण र शिक्षामा आमूल परिर्वतनगरी युवालाई विदेश पलायनबाट रोक्न ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्