Logo
Logo

कामनपाभित्रका पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ बैशाख । काठमाडौं महानगरपालिकाभित्र पसलहरु अब बिहान १० बजेसम्म खोल्न पाइने भएको छ । लकडाउनको अवधिमा बजारलाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने मिलाउन लागेको हो ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडाध्यक्षलाई बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हन् । सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै बैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन सोमबार कार्यपालिका बैठकमा यस्तो निर्णय गरिएको हो ।
बैठकमा लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एकरुपता कायम गर्दै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउनु पर्ने सुझाव वडाध्यक्षहरुले दिएका छन् । मेयर शाक्यले वडाध्यक्षहरुलाई सामाजिक दूरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर किनमेलको व्यवस्था मिलाउन आग्रह गरे ।
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं महानगरबाट सम्पन्न कामको समीक्षा गर्दै प्रमुख शाक्यले अहिलेसम महानगरका ६८ हजार ६ सय १७ जनालाई राहत वितरण गरेको जानकारी दिए । उनले लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने विरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउनका लागि संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति)सँग सम्झौता गरेको भन्दै लकडाउन अवधिभरमा ५ सय १५ जनालाई निशुल्क सेवा दिएको पनि जानकारी दिए ।
लकडाउन अवधिभर हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाबाट धेरै लाभन्वित भएको शाक्यको भनाइ छ ।
बैठकले महानगरको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला वडा, मझौला र साना वडालाई थप निकासा पठाउने समेत निर्णय गरेको छ । ठूलालाई १५ लाख, मझौलालाई १० लाख र सानालाई ५ लाख रुपैयाँलाई थप निकासा गर्ने गरी बैठकले अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्