Logo
Logo

आशा गरिएका प्रदीपः सफलताको ‘गगन’ चुम्लान् कि पतन सुरु होला ?


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूको लहरमा आशालाग्दो अनुहार हुन्, प्रदीप पौडेल । पौडेल युवा पुस्तामा लोकप्रिय छन् ।

प्रखर वक्ताको रुपमा चिनिएका पौडेलले विभिन्न विसंगतीविरुद्ध दरो आजव उठाउँदै आएका छन् । उनलाई धेरैले कांग्रेसको भावी नेतृत्वको रुपमा समेत हेर्ने गरेका छन् । उनै आशा गरिएका पौडेल अहिले स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हाल्न पुगेका छन् ।

पहिलो पटक ‘फूल’ मन्त्री बनेका पौडेलले रोजेकै मन्त्रालय पाएका छन् । देशव्यापी सञ्जाल भएको, नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको र धेरै बजेट पनि भएकाले स्वास्थ्य मन्त्रालय ‘आकर्षक’ मानिन्छ ।

स्वास्थ्य मन्त्रालय सिंहदरबार बाहिर छ । संवेदनशीलता र जनतासँग प्रत्यक्ष जोडिएको हिसाबले यो अर्को ‘सिंहदरबार’ हो । यो मन्त्रालयमा चुनौती र अवसर दुवै छन् । चुनौतीलाई अवसरमा बदल्न सके सफलताको ‘गगन’ चुम्ने सम्भावना हुन्छ । मेलोमेसो मिलाउन नसकेको राजनीतिक भविष्यमाथि नै धक्का लाग्न सक्छ ।

के–के छन् चुनौती ?
सरकारी अस्पतालमा हुने भिडभाड, शल्यक्रियाका लागि वर्षौँ कुर्नुपर्ने बाध्यता र स्वास्थ्य उपचारका लागि घरखेत बेच्नुपर्ने बाध्यतासँग जुधिरहेका नागरिकलाई स्वास्थ्य क्षेत्रमा केही सामान्य सुधार ल्याउन सके पनि ठूलो राहत हुनसक्छ ।

स्वास्थ्य मन्त्रालयमा उनी जुन समयमा आइपुगेका छन्, त्यो पनि महत्त्वपूर्ण छ । यो मन्त्रालय अहिलेसम्म संघीय प्रणालीमा गएको छैन । त्यसैले तीन तहका सरकारबीचको समन्वय मिलाउनु पर्ने हुन्छ ।

संघीय संरचना अनुसार कर्मचारी समायोजन हुँदा देखिएका कमजोरीलाई सुधार गर्नुपर्ने छ । जनशक्ति अभावको दिगो व्यवस्थापन गर्नुपर्नेछ । पालिका अस्पताल र तिनीहरूको व्यवस्थापनको नेतृत्व पनि लिनुपर्छ । स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्ने छ ।

यसका साथै स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने मुख्य काम स्वास्थ्य बिमा कार्यक्रम लागू पनि हो । त्यस्तै कडा रोगको सहज तथा सहुलियतमा उपचार र सरकारी अस्पताल सेवा सुधार आदि रहेका छन् ।

उपचारात्मक सेवामा बढी नै केन्द्रित अहिलेको स्वास्थ्य प्रणालीलाई निन्दात्मक, प्रवद्र्धधानात्मक, पुनस्र्थापनात्मकलगायत सबैमा जोड्दै सर्वव्यापी पहुँच बढाउनुपर्ने हुन्छ ।

निजी अस्पतालले १० प्रतिशत शय्या निःशुल्क दिनुपर्ने सरकारी नियम अझै पनि कतिपय अस्पतालले कार्यान्वयन गरेको छैन । अस्पतालले यो नियमअनुसार आम नागरिकलाई सेवा उपलब्ध गराउन सकेका छैनन् । यसको नियमन र कार्यान्वयन पनि पौडेलले गराउनुपर्ने छ । यिनै विषयमा केन्द्रित भएर काम गरेमा मन्त्री पौडेलको कार्यकाल उपलब्धिमूलक हुनेछ ।

सोमबार मन्त्रालयमा पद सम्हाल्दै पौडेलले एक हप्ताभित्र तत्काल गर्ने काम र दीर्घकालीन कामहरूको सूची सार्वजनिक गर्ने बताएका छन् । साथै उनले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने र सबै नेपालीलाई स्वास्थ्य बिमामा समेट्ने गरी कार्यक्रम ल्याउने बताएका छन् । त्यसको कार्यान्वयन पक्ष कस्तो हुन्छ त्यो प्रतिक्षाको विषय बनेको छ ।

गगनको बाटो पछ्याउँलान् ?
पौडेल, कांग्रेसका सस्थापन इतर शेखर कोइराला, महामन्त्री गगन थापा समूह निकट हुन् । यसअघि २०७३ सालमा गगन पनि स्वास्थ्यमन्त्री बनेका थिए । त्यसबेलो उनले धेरै लोकप्रिय काम समेत गरेका थिए । गगन स्वास्थ्यमन्त्री हुँदा गरेका कामहरूको चर्चा आज पनि उतिकै छ ।

उनले स्वास्थ्य मन्त्रालय सम्हालेको नौ महिनामा महत्त्वपूर्ण काम गरेका थिए । जसले गर्दा आजसम्म पनि उनले गरेका कामको चर्चा त्यतिकै छ ।

थापा नै स्वास्थ्यमन्त्री हुँदा विभिन्न सेवा सुविधा पनि लागू गरेका थिए । उनकै कार्यकालमा लागू स्वास्थ्य बिमा ऐन लागू भएको थियो । विपन्न निःशुल्क उपचारको व्यवस्था लागूसमेत गरेका हुन् । सस्तो मूल्यमा गुणस्तरीय औषधिको उपलब्धता हुने व्यवस्था गराएका थिए ।

त्यस्तै उनले एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागू गरेका थिए । गम्भीर रोग मानिने मिर्गौला डायलासिस सेवा सम्पूर्ण निःशुल्क विस्तार र कान्ति अस्पतालमा नवजात शिशुको निःशुल्क उपचारको व्यवस्था पनि उनले नै गरेका थिए । त्यस्तै, निःशुल्क मिर्गौला प्रत्यारोपण र बाथ मुटु रोगको शल्यक्रिया पनि उनकै पालामा सुरु भएको थियो ।

त्यस्तै, उनले सैनिक अस्पताल सर्वसाधारणका लागि खुल्ला, हरेक सरकारी अस्पताल बिहान ९ देखि ३ बजे सम्म अनिवार्य संचालन, ३ देखि ५ सम्म पेईङ सेवा, सवै स्वास्थ्य चौकीहरू चार बजेसम्म चलाउन निर्देशनसमेत उनकै कार्यकालमा भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रहरूमा उपकरण, औषधी र चिकित्सक पुगेको अवस्था, ७५ जिल्लामा निःशुल्क, मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वास्थ्य, अभियान सुरु उनकै कार्यकालमा भएको थियो ।

खोप निर्देशिका लागु, एम्बुलेन्स निर्देशिका, मदिरा नियन्त्रण तथा नियमन नीति लागू पनि गगनकै कार्यकालमा भएको थियो । जसले गर्दा गगनलाई आज पनि स्वास्थ्यमन्त्री हुँदा गरेका कामको प्रशंसा पाउने गरेका छन् ।

गगनको यो सफलता देखेर पनि उनले स्वास्थ्य मन्त्रालय रोजेका हुन् । विगतमा उक्त मन्त्रालयको जिम्मेवारी लिएर राजनीतिक उचाइ बढाएका गगन थापा टिमको स्वाभाविक साथ सहयोग रहनेछ । तर, उनले आफ्नो कार्यकालमा कतिसम्म सम्झन लायक कामहरू गर्छन् भन्ने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्