काठमाडौं । आज देशका विभिन्न आठ जिल्लामा बाढी आउने सम्भावना रहेको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान एक बुलिटिन जारी गर्दै वर्षाका कारण ८ जिल्ला र त्यस आसपास भई बहने अधिकांश स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिएको हो ।
सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला र त्यस आसपास बहने साना नदीहरूमा वहाब बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ ।
त्यस्तै इलाम, झापा, संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बझाङ, रुकुम पश्चिम, रुकुम पूर्व, सुर्खेत र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ ।
महाशाखाले ठूला नदीहरूको वहाब भने तीन दिनसम्म सामान्यदेखि उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।
त्यसैगरी दूधकोशी रूवाबजारमा, तामोशी बुस्तीमा, सुनकोशी हम्पचुवारमा, कर्णाली नदी चिसापानी र असाराघाटमा, भेरी नदी समजिघाटमा, पश्चिम सेती दिपायलमा र महाकाली नदी पारिगाउँमा बाढी उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।
बाढीको जोखिम रहेका स्थान र नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।