एजेन्सी । बंगलादेशमा रोजगारीमा गरिएको आरक्षणको विरोधमा सुरु भएको प्रदर्शनले हिंसाको रुप लिँदै गएको छ ।
बंगलादेशमा स्वतन्त्रताका लागि लडेका योद्धाका सन्तानलाई सरकारी जागिरमा आरक्षणको व्यवस्था गरिएको छ । तर, आरक्षणका नाममा प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्नेलाई मात्र आरक्षणमा राखिएको भन्दै त्यहाँ प्रदर्शन चर्किएको हो ।
प्रदर्शनका क्रममा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । यसअघि पनि विरोध चर्किएपछि सन् २०१८ मा आरक्षणको व्यवस्था बन्द गरिएको थियो । तर अदालतले पुन आरक्षण प्रणाली पुर्नस्थापित गरिदिएपछि प्रदर्शन चर्किएको हो ।
सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता संग्राममा सहभागिता जनाउनेका सन्तानलाई आरक्षण दिने भनिएपनि दुरुपयोग भएको भन्दै प्रदर्शन चर्किएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि मुलुकभरका विद्यालय र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन् ।