काठमाडौं, १६ बैशाख ।
नेकपाका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बताएका छन् । नेकपाभित्र विवाद चर्किरहेका बेला उनले कमजोरीलाई तन्काउन नहुने बताएका हुन् ।
‘कम्युनिस्ट आन्दोलन, राजनीतिक स्थिरता र देशको भविष्यप्रति साझा चिन्ता प्रकट भएको छ । त्यो चिन्तालाई आधार बनाएर समझदारी खोज्नुपर्छ । जहाँजहाँ कमीकमजोरी छन् ती ठाउँहरूममा समीक्षा गरेर सच्याएर अघि बढ्नुपर्छ भन्ने विषयमा छलफल भएको छ,’ उनले भने ।
बैठक बस्न जरुरी पनि छ, तर पहिले नै पोजिसन बनाएर गरिने बैठकबाट समाधान नहुने उनको भनाई छ । भन्छन् ‘त्यसकारण विभिन्न अनौपचारिक तहमा कुराकानी गरेर, अनुकूल वातावरण बनाएर बैठक बस्दा राम्रो हुन्छ भन्ने कुरा हामीले ग¥यौँ । छलफल सकारात्मक भएको छ ।’
कर्ण थापाको टिप्पणी : प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामाको माग पार्टी विभाजनको प्रस्ताव
ओलीनिकट नेता कर्णबहादुर थापाले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा गर्नुपर्छ भन्ने प्रस्तावलाई पार्टी विभाजन गराउने प्रस्ताव भनेका छन् । कोटेश्वरमा ओली र नेपाल समूहका नेताहरूबीच छलफल भइरहेका वेला नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘पछिल्लो समयमा आएर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कमरेड केपी शर्मा ओलीको राजीनामाको जुन प्रस्ताव सार्वजनिक भएको छ । यो पार्टी विभाजनको प्रस्ताव हो । सकिँदा केपी मात्रै सकिन्छन् भन्ने कसैले सोचेको छ भने यो मूर्खताभन्दा अरू के नै हुन सक्छ ? विग्रह होइन, पार्टी एकताको पक्षमा उभिनु अहिलेको आवश्यकता हो ।’