काठमाडौं । बंगलादेशमा आरक्षणको विरोधमा चर्किएको आन्दोलन उग्र बन्दै गइरहेको छ । निजामती सेवामा सुधार र सरकारले अघि सारेको आरक्षणको व्यवस्था खारेजीको मागसहित विद्यार्थीहरुले थालेको आन्दोलन हिंसात्मक बन्दै गएको हो । अहिलेसम्म भएका झडपमा ३९ जनाको मृत्यु भइसकेको एएफपीले जनाएको छ ।
त्यस्तै आरक्षणको विरोधमा उत्रिएका प्रदर्शनकारीले मुख्य सरकारी टेलिभिजन (बिटिभी)को मुख्यालयमा मा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूले टिभी परिसरमा रहेका कम्तीमा ६० सवारी साधन र एउटा कार्यालय भवनमा आगो लगाएका छन् ।
प्रहरी चौकीमा आगो लगाउने क्रममा प्रहरीले गोली चलाएपछि प्रदर्शनकारी थप आक्रोशित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रोशित भिडले प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि केही प्रहरी अधिकारी टेलिभिजनको कार्यालयमा शरण लिन गएका थिए । त्यसपछि प्रहरी अधिकारीलाई पछ्याउदै प्रदर्शनकारी बिटीभीको कार्यालय पुगेका हुन् ।