काठमाडौं । राष्ट्र बैंकले आज सार्वजनिक गर्ने भनिएको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति एकाएक रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकार पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा नियुक्त भएसँगै सार्वजनिक गर्ने तयारी रहेको मौद्रिक नीति रोकिएको हो ।
बिहीबारमात्रै पूर्वगभर्नरसमेत रहेका खतिवडा प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकार नियुक्ति भएका हुन् । प्रधानमन्त्री आर्थिक सल्लाहकार नियुक्त भएसँगै सार्वजनिक गर्ने तयारी अवस्था रहेको मौद्रिक नीति रोकिनुमा संयोगमात्र नभएर नेपाल राष्ट्र बैंकमा खतिवडा हावी भएको बताउन थालिएको छ । यसअघि राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको थियो ।
राष्ट्र बैंक स्रोतका अनुसार सञ्चालक समितिमा मौद्रिक नीतिबारे पर्याप्त छलफल गर्न बाँकी रहेकाले केही समय होल्ड गर्नुपरेको हाे । तर, जेठ १५ गते सरकारले बजेट सार्वजनिक गर्दा नै राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालिसकेको थियो । साथै, निजी क्षेत्र, आर्थिक विज्ञ तथा सरोकारवाला निकायहरूसँग समेत मौद्रिक नीतिका लागिसबै प्रक्रिया पूरा गरिसकेको थियो । सोहीअनुसार शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले तयारी गरेको थियो ।
सत्ता समीकरण परिवर्तन भएर नेकपा एमाले र कांग्रेसको सरकार बने पनि अर्थ मन्त्रालय र राष्ट्र बैंक एमालेकै नेतृत्वमा छ । अर्थमन्त्री एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल छन् भने राष्ट्र बैंकमा एमालेकै आर्थिक विभागमा काम गरिसकेका प्रधानमन्त्री ओलीनिकट महाप्रसाद अधिकारी गभर्नर छन् ।
प्रधानमन्त्रीको आर्थिक सल्लाहकार डा. खतिवडाले प्रधानमन्त्रीकै अनुमतिमा राष्ट्र बैंकमाथि हाबी गरेको राष्ट्र बैक स्रोतको दाबी छ । डा. खतिवडाको हावीपछि शुक्रबार सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति केही दिनका लागि पर सरेको हो । स्रोतका अनुसार मौद्रिक नीतिका ड्राफ्ट प्रधानमन्त्रीका आर्थिक सल्ल्लाहकार डा. खतिवडाले हेरेपछि मात्र सार्वजनिक हुन सक्ने स्रोतको दावी छ ।