काठमाडौं । काठमाडौंको ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार टुकुचा र वाग्मती मिसिएको खोलाको पानी परीक्षण गर्दा सो भाइरस देखिएको हो ।
गौतमका अनुसार २६ मे २०२४ मा संकलन गरिएको नमुनामा भाइरस रहेको पुष्टि भएको हो । वाग्मती र टुकुचा किनारसहित अन्य शंकास्पद स्थानको पानीको नमुना संकलन गरी परीक्षणका निम्ति विश्व स्वास्थ्य संगठनको बैंककस्थित प्रयोगशालामा पठाइएको डा. गौतमले जानकारी दिए ।
सो भाइरस पोलियोकै खोप पेटमा गई म्युटेन्ट (परिवर्तित) भएर हुन सक्ने प्रकारको हो । भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौं उपत्यकामा तत्काल खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप शाखाले साउन ९ देखि १२ गतेसम्म उपत्यकामा खोप दिँदै छ ।
जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर घरमै पुगेर खोप दिइने डा. गौतमले बताए । सरकारले अहिले नियमित खोपमार्फत मुखबाट पोलियो थोपा खुवाउँदै आएको छ । नियमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ । सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।