बेइजिङ । उत्तरी चीनस्थित एक राजमार्गमा रहेका पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ भने तीस जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार जनाएको छ ।
प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४० बजेको भिषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको बताएको छ ।
राजमार्गको पुल तल नदीमा खसेपछि “लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति” बेपत्ता भएको सिसिटिभीले बताएको छ । ‘हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको हो’, प्रसारणकर्ताले बताएको छ ।
राज्यको टिभीमा सार्वजनिक गरिएको तस्बिरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखाइएको छ । उत्तरी र मध्य चीनमा मङ्गलबारदेखीको निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिरबाट प्रभावित भएको छ ।
राज्य सञ्चालित सञ्चारमाध्यमले शुक्रबार सानक्सीको बाओजी सहरमा आएको बाढीपहिरोबाट कम्तिमा पाँच जनाको मृत्यु भएको र आठजना बेपत्ता भएको जनाएको छ ।