Logo
Logo

एमालेसँगको सहमति कार्यान्वयन हुनेमा गगनको आशंका


14.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

शनिबार जय नेपाल फाउण्डेशनले गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभाबाट त्यस्ता संशयहरुलाई स्पष्ट पार्नुपर्ने बताए ।

पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको उनले बताए ।

“आजको रियालिटी के हो भने नेपाली कांग्रेस पार्टीले नेकपा एमालेसँग एउटा समझदारी गरेको छ । त्यो समझदारीको आधारमा हामी सत्तामा छौं । अब यसको पुष्टि हाम्रो एक्सनबाट हुनुपर्छ । हाम्रो कामबाट हुनुपर्छ । हामीले किन गर्‍यौं ? भोलि प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । त्यसकारण अहिले धेरै कुरा भन्न उपयुक्त नहोला । किनकी उहाँले नै भन्नुहोला”, महामन्त्री थापाले भने, “भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले भोलि राष्ट्रको नाममा अथवा विश्वासको मत लिँदै गर्दा खेरी, संसद्‌मा आफ्नो विचार राख्दै गर्दा खेरी यति वटा बुँदामा नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा समझदारी भयो । सात बुँदाको बीचमा भनिरहेको छ । अब यो सात बुँदा के हो भन्ने बारे भोलि त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु ।’

उनले त्यो सहमतिलाई कसरी अघि बढाउने भन्नेमा प्रधानमन्त्री ओली नै प्रमुख जिम्मेवार रहेको बताए । उनले कांग्रेसका कारण सत्ता गठबन्धनमा कुनै खटपट नआउने समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्