Logo
Logo
जम्काभेट

‘टिकटकबाट चिनिएर कलाकारितामा आएँ’


गरिमा शर्मा, अभिनेत्री

1.6k
Shares

चितवनकी गरिमा शर्मा यतिखेर फिल्म क्षेत्रमा करिअरका लागि संघर्षरत छिन् । सोसल मिडिया ‘टिकटक’मार्फत ग्ल्यामरस क्षेत्रमा उदाएकी गरिमाले म्युजिक भिडियो हुँदै फिल्मी अभिनयमा फड्को मारेकी हुन् । डेढ सयभन्दा बढी भिडियोमा मोडलिङ गरेपछि ‘लण्डन टु पेरिस’मार्फत फिल्ममा डेब्यू गरेकी गरिमा भन्छिन्, ‘मलाई सानैदेखि हिरोइन बन्ने इच्छा थियो ।’
तर, गरिमा अभिनीत पहिलो फिल्म ‘लण्डन टु पेरिस’ले सोचेजस्तो व्यापार गर्न सकेन । ‘प्रचारप्रसारमा चुक्दा फिल्म नचलेको’ गरिमाको बुझाइ छ । उनी अभिनीत फिल्म ‘ह्रस्व दीर्घ’ र ‘वर एण्ड वधु’ प्रदर्शन हुने क्रममा छन् । मोडल तथा अभिनेत्री गरिमा शर्मासँग रेजिना पाण्डेको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?
भर्खरैमात्र मेरो फिल्म ‘लण्डन टु पेरिस’ रिलिज भएको थियो । अहिले म्युजिक भिडियोहरू फाट्टफट्ट गरिरहेकी छु । र, केही फिल्मका स्क्रिप्टहरु पढ्दैछु ।

तपाईँको डेब्यू फिल्म ‘लण्डन टु पेरिस’ खासै चलेन नि ?
हो, चलचित्र सोचेजस्तो चलेन । सायद, हाम्रै कमीकमजोरी भयो होला । प्रचारप्रसार गर्न नसक्नु पनि हाम्रो कमजोरी भयो । हामीले चलचित्रको बारेमा बुझाउन सकेनौँ ।

प्रिमियर शोको हाउभाउ देख्दा चलचित्रले राम्रै व्यापार गर्छ भन्ने अनुमान थियो नि ?
सोचेजस्तो भएन । दर्शकले हलसम्म पुग्दै नपुगी मुल्याङ्कन गरिदिनुभयो । यसमा दुःख लाग्यो ।

आगामी चलचित्रबाट पनि यस्तै हुने हो कि ?
काम राम्रैका लागि गर्ने हो । काम गर्दैै जाँदा कहिलेकाहीँ सोचेजस्तो हुँदैन । असफल भइन्छ भनेर काम नै नगर्ने कुरा भएन । काम गर्दै जाँदा सफलत र असफलता दुवै बेहोर्दै जानुपर्छ ।

चलचित्र ‘प्रिमियर शो’ कार्यक्रममा नायिकाहरू किन शोपिस बन्न चाहन्छन् ?
यो जमाना नै यस्तै हो । सबैको आ–आफनो इच्छा र रहर हुन्छ । जसलाई जे मनपर्छ, त्यही लगाउने हो । एउटा सेलिबे्रटीले आकर्षण पहिरन लगाउनु स्वाभाविक हो । र, सबैको चासोको विषय पनि हो । तर, एउटा सेलिबे्रटीले लगाएको पहिरनलाई लिएर नानाथरी चर्चा गर्नु मलाई राम्रो लाग्दैन ।

सेलिबे्रटीहरूले ग्लामरसको नाममा ‘भल्गर’ प्रदर्शन गर्छन् भन्ने आरोप छ नि ?
होला, यस्ता घटनाहरू नआएका पनि होइनन् । तर, एकजनाले गर्दा सबैलाई मुछ्नु गलत हो । सेलिबे्रटीले लगाएको कपडाको तारिफ गरेर त्यही अनुसार चल्नेहरू पनि छन् भने, कोही सेलिबे्रटीको पहिरन यस्तो हुन्छ र ? भन्दै गिज्याउनेहरू पनि भेटेको छु । यो आ–आफनो सोच हो । तर, अहिलेसम्म मैले भल्गर देखिने पहिरन लगाएकी छैन ।

सोशल मिडिया ‘टिकटक’मार्फत चिनिएकी मोडल तथा अभिनेत्री गरिमा शर्मा भाग्यमा विश्वास गर्छिन् । फिल्म क्षेत्रमा संघर्षरत गरिमा भन्छिन्, ‘करिअर बनाउने क्रममा प्रतिस्पर्धा हुन्छ नै, भाग्यले पनि साथ दिनुपर्छ ।’

कला क्षेत्रमा तपाईँको प्रवेश कसरी भयो ?
मेरो कलायात्रा टिकटकबाट सुरु भएको हो । म टिकटकबाट चिनिएकी हुँ । मेरो मोडलिङ र अभिनयमा रुची थियो । मेरो बाबाको विद्यार्थी नवराज पन्त संगीत क्षेत्रमा हुनुहुन्छ । उहाँले मलाई काम गर्ने मौका दिनुभयो । त्यसपछि लगातार भिडियोमा काम पाउन थालेँ । अहिलेसम्म एक सय ५० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छु भने तीन वटा चलचित्रमा अभिनय गरिसकेको छु ।

टिकटकले यहाँसम्म पु¥याउँछ जस्तो लागेको थियो ?
थिएन । तर, सपना देख्न छोडेकी थिइनँ । मलाई सानैदेखि फिल्मको हिरोइनी बन्ने रहर थियो । जसरी पनि मलाई हिरोइन बन्नु थियो । यही सपना पूरा गर्न टिकटक बनाउँथेँ । काम गर्दै जाँदा म्युजिक भिडियोमा काम गर्न पाएँ । त्यसपछि चलचित्रसम्म आइपुगेँ ।

फिल्म क्षेत्रमा नायिकाबीच चर्को प्रतिस्पर्धा छ भन्छन्, तपाईँ कसलाई प्रतिस्पर्धी ठान्नुहुन्छ ?
यो क्षेत्र म जस्ता धेरै नायिकाहरू एकसाथ आएका हुन्छौँ । जसले गर्दा प्रतिस्पर्धा भइहाल्छ । तर, कसले कति काम गर्न सक्छ, कसले कति काम पाउँछ र कसले राम्रो गर्न सक्छ भन्ने मात्र हो । अर्को कुरा भाग्य पनि हो । कहिले सोच्दै नसोचेको चलचित्रले बजार खाइदिन्छ भने कहिले राम्रो चलचित्रले पनि निराश बनाइदिन्छ । प्रतिस्पर्धा हरेक क्षेत्रमा छ । मेरो लागि म आफैँ प्रतिस्पर्धी हुँ, काम गदै जाने, सिक्दै जाने हो । कहाँसम्म पुगिन्छ, त्यो समयले नै बताउँछ ।

काम गर्न म्युजिक भिडियो कि चलचित्रमा सजिलो ?
म्युजिक भिडियोमै सजिलो लाग्छ । म्युजिक भिडियोलाई कम समय दिए पुग्छ । र, छिटै रिजल्ट पनि आउँछ । तर, चलचित्रका लागि महिनौँ लाग्छ । मिहेनत भने दुवैमा गर्नुपर्छ ।

रहरले त कला क्षेत्रमा लाग्नुभयो तर सोचेजस्तो पाइयो कि अलि फरक ?
मैले सोचेको भन्दा धेरै राम्रो पाएँ । सुरुवाती दिनमा चाहिँ आफ्नाहरु पढेर रामै्र अफिसमा काम गरे हुन्थ्यो, यो फिल्मतिरको झन्झटमा नफसे हुन्थ्यो भन्थे । तर, मलाई यही क्षेत्रमा काम गर्नु थियो । त्यसैले निरन्तरता दिएँ ।

कला क्षेत्रमा सकरात्मकभन्दा नकारात्मक कुराको बढी चर्चा हुन्छ किन ?
हरेक क्षेत्रमा राम्रा र नराम्रा कुरा हुन्छन । नराम्रो कुराको अलोचना पनि भइनै रहन्छन् । तर अरु क्षेत्रको चर्चा भन्दा फिल्मी क्षेत्रमा बढी चर्चा र हल्ला हुन्छ । कलाकारहरू सबैको आखाँमा सजिलै पर्ने भएकाले पनि होला । एउटा महिला कलाकार कोही केटा मान्छेसँग बसेर चिया खायो भने पनि चियोचर्चा गर्ने गरिन्छ । पत्रकारले पनि गसिप बनाइदिन्छन । ग्ल्यामरस क्षेत्र भनेकै यस्तै हो ।

तपाईं चलचित्र कतिको हेर्नुहुन्छ ?
हेर्छु । फुर्सद भएको दिन प्रायः मनिङ शोमा टिकट काटेरै फिल्म हेर्ने गरेकी छु । फिल्म हेर्दा मलाई रमाईलो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्