Logo
Logo

माओवादीलाई एमाले र कांग्रेसले घुस खान सिकाएको घनश्यामको आरोप


4.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रलाई नेकपा एमाले र नेपाली कांग्रेसले घुस खान सिकाएको आरोप लगाएका छन् ।

शनिबार डा.मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम : अ भिजनरी रिबेल’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै महासचिव भुसालले कांग्रेसले राजाबाट, एमालेले कांग्रेसबाट र माओवादीले कांग्रेस एमाले दुवैबाट घुस खान सिकेको आरोप लगाएका हुन् ।

महासचिव भुसालले भने, “राजाले परम्परा र अन्तबाट पनि सिके होलान् । कांग्रेसले राजाबाट सिक्यो भन्ने लाग्छ । एमाले भएर कांग्रेसबाट सिक्यौं । उनीहरूसँग संगत बढ्दै जाँदा हामीले सिक्यौं । माओवादीलाई हामी दुइवटै मिलेर घुस खान सिकाएका हौं भन्ने लाग्छ । हामी आफूजस्तै बनायौं ।”

उनले शान्ति प्रक्रियापछि बाटो नदेखेपछि माओवादीले समाजको कुरा बिर्सिएको बताए । महासचिव भुसालले त्यतिबेला जनवादी क्रान्ति सम्पन्न भएको घोषणा गर्दै समाजवादी क्रान्तिमा जाने र त्यसका योजना सार्वजनिक नगर्नु माओवादी र डा. भट्टराईको गल्ती रहेको बताए ।

महासचिव भुसालले कांग्रेस र एमाले दुई दलको सरकारसँग मुलुकमा रोजगारी र कृषिमा क्रान्ति गर्नसक्ने क्षमता भएपनि त्यो नहुने भन्दै भने, “क्षमता भएपनि अहिलेको सरकारले के गर्ला भन्दा इतिहासमा आफैंले गरेका अपराधहरू लुकाउन यसलाई अप्ठ्यारो हुनेछ। त्यसका नेताहरूलाई अप्ठ्यारो हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्