पाल्पा । नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरले एक कार्यक्रमबीच अग्नि पीडितका परिवारलाई राहत हस्तान्तरण गरेको छ । गत वैशाख १९ गते जंगलमा लागेको आगो बस्तीमा पसी रामपुर नगरपालिका वडा नम्बर ४ र ५ मा गरी ९ घर परिवारमा क्षति पुर्याएको थियो ।
उक्त ९ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरले बैशाख २४ गते दैनिक जीवनमा आवश्यक पर्ने लत्ताकपडा ओड्ने-ओछ्याउने खाना पकाउने जस्ता राहत सामग्री हस्तान्तरण गरेको थियो भने शनिबार सोही परिवारलाई विभिन्न संघसंस्था, देश-विदेश गरि ९४ जनाबाट संकलन भएको रु १ लाख १३ हजार नगद हस्तान्तरण गरेको हो ।
जसमा क्षतिको आधारमा रामपुर ५ का हरिकला श्रेष्ठलाई २५ हजार, राजकुमार श्रेष्ठलाई १० हजार, सुखमाया श्रेष्ठलाई १० हजार, रामपुर ५ कै श्यामकुमार श्रेष्ठलाई १० हजार, रामपुर नगरपालिका वडा नम्बर ४ कमला श्रेष्ठलाई १८ हजार, रामपुर–४ का खुमबहादुर रानालाई १० हजार, रामपुर ४ कै याउकुमारी श्रेष्ठलाई १० हजार, अनिता श्रेष्ठ १० हजार गरी एक लाख १३ हजार हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका मुख्य अतिथि नेपाल रेडकस सोसाइटी पाल्पा जिल्लाका सहमन्त्री कमलराज भट्टराईले नेपाल रेडकस सोसाइटी विशुद्ध मानवीय संस्था भएको र आफूले पाउनेभन्दा अरु दुःख परेका व्यक्तिलाई के कति सहयोग गर्न सकिन्छ भन्ने संस्था भएको बताए । उनले रेडक्रस स्वयंसेवी संस्था भएकोले सबैको सहकार्यको आवश्यकता रहेको बताए ।
रामपुरमा ब्लडको अभाव हुन नदिनका लागि एक डेढ वर्षदेखि ब्लड बैंक सञ्चालन गर्न नसके पनि ब्लड ग्रुप क्याम्पिङ सञ्चालन गर्दै आएको र अबको केही महिनामै पाल्पामा ब्लड बैंक सञ्चालन गरिने उनले बताए । त्यसका लागि रामपुरमा नेपाल रेडकस सोसाइटी उपशाखा रामपुर, रामपुर अस्पताल र रामपुर नगरपालिकाको साझेदारीमा युनिट सञ्चालन गर्ने उनले जानकारी दिए ।
रामपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामबहादुर रानाले नेपाल रेडकस सोसाइटीले सबैको विश्वास जितेर जुन राहत संकलन गरेको र अग्नि पीडित परिवारलाई हस्तान्तरण गर्न पाउँदा खुसी व्यक्त गरे । वडा नम्बर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले नेपाल रेडकस सोसाइटी उपशाखा रामपुर अहिलेको अवस्थामा सक्रिय भएर काम गर्दै आएको बताए ।
यस्तै, वडा नम्बर ७ का वडाध्यक्ष देवराज तिवारीले यो नाफा लिनेभन्दा पनि दिने संस्था भएकोले सबै जना साथमा साथ मिलाएर अगाडि बढ्नु आवश्यक रहेको भन्दै आफूले १४ पटक रक्तदान गर्ने अवसर पाएको बताए । उनले अरुलाई पनि रक्तदानमा सहभागी हुन आग्रह गरे । कार्यक्रम सोसाइटी उपशाखा रामपुरका सभापति मनोरथ भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।