काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र नसहने प्रतिबद्धता जनाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘दुनियाँका अगाडि दुनियाँले सुन्नेगरी भन्न चाहन्छौं, भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहन्नौं । कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं । भ्रष्टाचार र अख्तियारको दुरूपयोग तथा छानबिन तथा अनुसन्धान हुन्छ । यसमा ढुक्क भए हुन्छ ।’
उनले कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो–कोही भ्रष्टाचारीमाथि कारबाही हुने बताए । प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनेछौं । सहकारीपीडितका सन्दर्भमा उचित निर्णय लिनेछौं । जोसुकै भएपनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौँ ।’
उनले देशमा बढेको निराशा हटाएर तीव्र आर्थिक विकासको लागि नयाँ सरकार बनेको पनि बताए । उनले देशको विकास निर्माण भद्रगोल रहेको रहेको भन्दै आफू नेतृत्वको सरकारको पाँच प्राथमिकता रहेको सुनाए ।
उनले भने, ‘सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको छ, करिब ६० लाखभन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारले सीमा नाघेको छ । युवाहरू विदेश पलायन भइरहेको छ ।’