काठमाडौं । बंगलादेशमा जारी विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थीहरुमध्ये आइतबार मात्र चार सय २० जना स्वदेश फर्किएका छन् ।
हिजो मात्र हवाइमार्गबाट एक सय १५ र बाँकी तीन सय पाँच जना काँकडभिट्टा नाका भएर नेपाली विद्यार्थी स्वदेश फर्किएका अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाले जानकारी दिए । आइतबार बिहान ११ः३० मा ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनीहरुलाई परराष्ट्र मन्त्रालयका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।
बंगलादेशमा आरक्षण विरोधी आन्दोलनले हिंसात्मक रुप लिँदै गएपछि परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अधिकारीहरुलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।
परराष्ट्र मन्त्रालयले शनिबार नै एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको थियो । मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरेको छ ।