काठमाडौं । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले कर्णाली प्रदेश सरकारबाट राजीनामा दिने भएका छन् । सरकारमा सहभागी माओवादीका चार मन्त्रीहरूले बिहान ११ बजे पत्रकार सम्मेलन गरेर सामूहिक राजीनामा दिन लागेका हुन् ।
एमाले नेता यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा माओवादीबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाही सहभागी छन् ।
केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणको सरकार बनेसँगै माओवादी कर्णाली सरकारबाट बाहिरिन लागेको संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए ।
योसँगै कर्णालीमा पहिलोपटक माओवादी प्रमुख प्रतिपक्षी दलको बेन्चमा बस्ने भएको छ । प्रदेश सरकार गठन भएदेखि नै सरकारमा सहभागी हुँदै आएको माओवादी ६ वर्षदेखि सरकारमा थियो ।