काठमाडौं । कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका चार मन्त्रीले सामूहिक राजीनामाको घोषणा गरेका हुन् । उनीहरुले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामापत्र समेत बुझाएका छन् ।
एमाले नेता कँडेल नेतृत्वको प्रदेश सरकारमा माओवादीबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाही सहभागी थिए ।
केन्द्रमा एमाले र कांग्रेस मिलेर नयाँ सरकार गठन गरेसँगै प्रदेश सरकारबाट पनि माओवादी बाहिरिएको हो । योसँगै कर्णालीमा माओवादी पहिलोपटक प्रमुख प्रतिपक्षी दलको बेन्चमा बस्ने भएको छ । प्रदेश सरकार गठन भएदेखि नै सरकारमा सहभागी हुँदै आएको माओवादी ६ वर्षदेखि सरकारमा थियो ।