Logo
Logo

नेकपा सचिवालय बैठक : आ-आफ्नो अडान नछोडेपछि बैठक निष्कर्षविहीन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौ, १९ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक निष्कर्षविहीन टुंगिएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बरिष्ठ नेता माधव नेपाललगायतले अडान नछोडेपछि बैठक निष्कर्षविहीन बनेको हो ।
बैठकमा नेकपाका अध्यक्ष प्रचण्ड र नेता माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर, ओलीले राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा अढिक भएपछि बैठक निष्कर्षविहीन भएको हो । बैठकमा दुई पक्ष आ–आफ्नै अडानमा टसमस बनेपछि २० वैशाखमा सचिवालय बैठक बस्नेगरी बैठक टुंगिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको महत्व, स्थायी कमिटी बोलाउने र त्यसस“ग जोडिएका विविध पक्षकाबारे छलफल भएको थियो । अब २० गतेको बस्ने बैठकले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक प्रक्रियालाई अघि बढाउने सन्दर्भमा उपयुक्त निर्णय दिने विश्वास व्यक्त गरिएको छ ।
केही दिनअघि प्रधानमन्त्री ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किएको हो । विवाद बढ्दै जा“दा नेताहरुबीच ओलीलाई हटाउन हस्ताक्षर अभियान समेत चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्