काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले डेडिकेटेड र ट्र्रंकलाइन विवादको मुख्य विषय उद्योगी व्यवसायीले नतिरेको विद्युत महसुल उठाउने कि नउठाउने भन्ने रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उपमहासचिव समेत रहेका बस्नेतले अमुक उद्योगमा काटिएको विद्युतको लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मख्य प्राथमिकताको विषय बनाइरहेको बताए ।
अहिलेको विवाद नियमित बिजुली उपभोगको नभई विशेष अवस्थाको भएकाले त्यसलाई कानुन अनुसार नै हल गर्नुपर्ने उनले बताए । बस्नेतले भने, “जहाँसम्म विदुत प्राधिकरणले जारी गरेका बिलहरु बारेको प्रश्न छ । त्यसको निरुपण गर्ने कानुनी र संरचनात्मक व्यवस्था छ । पुनरावालोकनदेखि पुनरावेदनसम्मको कानुनी व्यवस्था छ । त्यो बाटो हिँड्नुपर्यो ।”
“कुरा सुशासन र विधिको गर्ने, नियमको गर्ने । समाधान ठाडो निर्देशनमा खोज्ने ? सरकार गलत बाटो हिँड्दैछ । सभामुखमार्फत म सचेत गराउन चाहन्छु- नियामक निकायहरुको दैनिक कार्यकारी, व्यवास्थापकीय कामहरुमा रुची देखाएर आफूलाई विवादित नबनाउन म आग्रह गर्न चाहन्छु”, उनले भने ।