काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन नपाइने भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएपछि स्थानीय प्रशासनले सम्भावित क्षति हुन नदिन भन्दै आजदेखि रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाइएको हो ।
साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन आग्रह गरिएको छ ।
विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा सवारी साधन संचालनमा छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको कार्य भइरहेको छ ।