काठमाडौं, १८ वैशाख । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । ६७ वर्षीय अभिनेता कपूरको आज बिहीबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । क्यान्सरपीडित उनी बुधबारमात्र अस्पताल भर्ना भएको खबर आएको थियो ।
भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । रणधिर कपुरले ऋषि कपुर अस्पताल भर्ना गरिएको जानकारी गराएका थिए । तर, उनले ऋषिको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका थिए ।
अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्र्रअरी महिनामा उनी स्वास्थ्य बिग्रिएपछि दुई पटकसम्म अस्पताल भर्ना गरिएका थिए ।
बुधबार मात्र बलिउडका अभिनेता इरफान खानको निधन भएको थियो । त्यसको २४ घण्टा नवित्दै बलिउडलाई अर्को शोक परेको छ । ५४ वर्षीय इरफानलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको बताइएको थियो । लण्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए ।