काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको जहाजमा सबै यात्रु सौर्य एयरलाइन्सका कर्मचारी रहेको खुलेको छ ।
बिहान ११ बजे पोखराको लागि उडान गर्ने क्रममा बुद्ध एयरको ह्याङ्गर पछाडी खाली ठाउँमा खसेको जहाजमा सवार चालक दलका २ सदस्यसहित १९ जना नै आफ्नो कर्मचारी रहेको सौर्य एयरलाइन्सले जानकारी दिएकाे छ ।
सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली रहेको बुझिएपनि आधिकारी विवरण आउन बाँकी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।
सौर्यको ९ एन–एएमई÷सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः१५ मिनेटमा दुर्घटनामा परेको थियो । जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । उनको आँखामा चोट लागेको छ, भने उनी बोल्ने सक्ने अवस्थामा रहेको एसएसपी मैनालीले बताए । उनका अनुसार घटनास्थलबाट निकालिएका शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।