- रमेश घिमिरे
स्वतन्त्र पत्रकार
काठमाडौं, १८ बैशाख । विश्व नै एकजुट भएर कोरोना महामारीविरुद्ध लडिरहेको बेला नेपालमा भने सत्ताको घृणित खेल सुरु भएको छ ।
दुई वर्षअघि भएको आमनिर्वाचनमा विगत ५० वर्षदेखि विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७४ असोज १७ गते एकीकृत भई चुनावमा होमिएका थिए । उनीहरुले आफ्नो चुनावी घोषणापत्रमा ‘स्वच्छ निर्वाचन लोकतन्त्रको आधार ः सुशासन र समृद्धिका लागि वामपन्थी सरकार’ मूल नारा लिएर जनतामाझ गएका थिए । नेपाली जनताले पनि ठूलो आशा, भरोसा र विश्वासका साथ प्रचण्ड विश्वासका साथ वामपन्थी सरकारलाई विजयी गराएका थिए । तर, पाँच वर्षका लागि जिताएको सरकार दुई वर्षमै स्खलन हुन लागेको देख्दा नेपाली जनता यो महामारीमा आक्रोशित भएका छन् ।
विश्व कोरोना महामारीको मानवीय त्रासदीमा छ । तर, नेपालका शासक भने सरकारको सम्पूर्ण शक्ति लगाएर नेपाली जनताको जीवनरक्षा गर्नुको साटो सत्ताको घृणित खेलमा व्यस्त हुनु मानवीय संवेदनहीनताको पराकाष्ठा हो । के नेपाली जनताले यही गर्नका निमित्त उनीहरुलाई सत्तामा पु¥याएका हुन् ? कुनैपनि विवेकशील मनुष्यले यसको पुष्टी गर्न सक्दैन ।
प्रधानमन्त्री केपी ओलीलाई जनताले भारतीय नाकाबन्दीताका आफ्नो काँधमा उठाएका थिए, त्यही प्रधानमन्त्री आफू सत्तामा टिकिरहनका लागि यतिसम्म गर्छन् भनेर नेपाली जनताले कल्पनासम्म गरेका थिएनन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा अधिनायकवाद सोचले शासन चलाउँने कल्पनासम्म पनि गर्न सकिँदैन । नेपालको कम्युनिष्ट सरकार न चीन जस्तो हो, न त क्यूबाकै जस्तो हो ।
यहाँ त नेपाली जनताले आफ्नो हितका निमित्त अमूल्यमतले कम्युनिष्ट सरकारलाई सत्तामा पु¥याएका हुन् । कुनै एक व्यक्तिको अधिनायकतावादको लागि होइन । ‘समृद्ध नेपाल, सुखी नेपाली’ मुलुकलाई अस्थिरतातर्फ धकेलेर हुँदैन । त्यसका लागि आफ्नो निहित स्वार्थ त्यागेर मुलुक र जनताको हितमा लाग्नु पर्दछ ।
कम्युनिष्ट पार्टी भनेको विधि र पद्दतिमा चल्ने पार्टी हो । त्यसका पछाडि लाखौँ कार्यकर्ताको त्याग, तपस्या र बलिदान छ । त्यसैले नेपाली जनताको विश्वासमा कुठाराघात नहोस् । त्यसो भयो भने मुलुकमा कोरोना त्रासदीका साथसाथै अर्को अकल्पनीय त्रासदी थपिने छ । सबैलाई चेतना भया ।
Twitter: @rmshghimire